काठमाडौँ, ५ साउनः राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ । विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुँदा तोकिएका केही सेवा स्थगनमा परेका छन् ।
विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार अनलाइनमार्फत् प्रदान हुने विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण सच्याउने सेवा, जन्मदर्तासँगै परिचय नम्बर प्रदान गर्ने, सामाजिक सुरक्षा भत्ता लाभग्राही दर्ता, नवीकरण र अन्य जैविक प्रमाणीकरण सेवाहरू हाल अस्थायी रूपमा अवरुद्ध छन् । राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीसँग जोडिएका अन्य सार्वजनिक सेवाहरूमा पनि असर परेको छ ।
विभागले आइतबारदेखि सेवा आंशिकरूपमा बन्द भएको जानकारी गराउँदै मर्मतपश्चात् पुनः सुचारु गरिने जनाएको छ ।
यसैबीच, अफलाइनमार्फत् विवरण सङ्कलन र वितरण प्रक्रिया यथावत् सञ्चालनमा रहने भएकाले सबै सेवा इकाईहरूलाई सोही अनुसार काम गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
अफलाइन विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाइन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँले जानकारी दिएका छन । विभागले सेवा प्रभावित सेवाग्राही र सरोकारवालाहरूलाई असहज परिस्थितिमा सहकार्य गर्न अनुरोध समेत गरेको छ ।