सिन्धुली, १७ साउन – निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । गोलञ्जोर गाउँपालिका–६ स्थित अकरेभिरमा लेदो र हिलो जम्दा सवारी आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको ११ वटा भैँसी बोकेको ना७ख ७८९० नम्बरको ट्रक लेदोमा फसेको छ । हाल ट्रक निकाल्ने प्रयास जारी छ भने लोकमार्गका अन्य विभिन्न स्थानमा थप दुई ट्रक समेत रोकिएका छन् ।
त्यस्तै, सोही गाउँपालिकाको बलेनी क्षेत्रमा सडक माथिबाट ठूलो पहिरो खस्दा बाटो पूरै बन्द भएको छ । सडक अवरुद्ध भएपछि खुर्कोट–घुर्मी खण्डमा गुड्ने सवारीसाधन खुर्कोटमै थुनिएका छन् । पूर्वी पहाडी जिल्लाहरू ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर लगायतबाट राजधानीतर्फ हिँडेका यात्रुहरूलाई केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।
प्रहरीका अनुसार पहिरो र लेदो हटाउने प्रयास भइरहेको छ भने निरन्तर वर्षाका कारण जोखिम अझै टरिसकेको छैन । स्थानीय प्रशासन र सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन् ।