आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

कर्णाली ‘करिडोर’का ९ पुल अझै बन्न सकेनन्


  • 2.1K
    SHARES
  • https://www.indrenipost.com/posts/9581
    साउन ५, २०८२ सोमबार
    कर्णाली ‘करिडोर’का ९ पुल अझै बन्न सकेनन्

    मान्म कालीकोट, ५ साउनः कर्णाली ‘करिडोर’ अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुलको निर्माण कार्य अझै सुरु भएको छैन ।
    विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता गरिए पनि अहिलेसम्म काम सुरु हुन नसकेको हो । सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीका अनुसार ठेक्का भएको तीन वर्ष भइसक्दा पनि नौ मध्ये सातवटा पुलको डिजाइन स्वीकृत हुन बाँकी छ । निर्माण व्यवसायीले डिजाइन स्वीकृत गराएर मात्रै काम अगाडि बढाउन सक्ने प्रावधानले काम अघि नबढेको जानकारी दिए ।
    कालीकोट खण्डका तीन वटा पुलसहित बाजुराको बड्डीगाड जुड्डी, कवाडी खोला र हुम्लाको गल्फा गाड, सल्लीसल्ला लगायतका पुलको निर्माणसमेत रोकिएको हो । प्रतिनिधिसभा सांसद महेन्द्रबहादुर शाहीका अनुसार ठेक्का भएको लामो समय बित्दा समेत काम नगर्नु दुःखद् विषय हो ।
    २०७६ सालको असारमा बाढीले बगाएको कालीकोटको फुगाड खोलामा रहेको फलामे बेलिब्रिजको सट्टा नयाँ पक्की पुल निर्माण नहुँदा वर्षायाममा सडक सञ्चालनमा समस्या हुने गरेको छ । पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोलाका साथै सान्नी त्रिवेणी–रास्कोटको सिमामा पर्ने सान्निगाड खोला तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खोलाको पक्की पुल निर्माणको जिम्मा लिएको बिकोइ कन्स्ट्रक्सनले हालसम्म सडक विभागबाट डिजाइन स्वीकृति पाएको छैन ।
    कालीकोटका ती तीनवटा पुलको करिब १८ करोड रुपैयाँको ठेक्का लिएको बिकोइ कन्स्ट्रक्सनका प्रतिनिधि हरिराम कोइरालाले डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले काम सुरु गर्न नसकिएको जानकारी दिए ।
    स्थानीयवासी तथा जनप्रतिनिधिहरूले कर्णाली करिडोरको ढिलाइले क्षेत्रको यातायात, आपूर्ति र विकासमा प्रतिकूल असर पारिरहेको बताएका छन् ।

     

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij