सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

व्यावसायिक किसानका लागि सहुलियत कर्जामा ५ प्रतिशत ब्याज अनुदान


  • 289
    SHARES
  • https://www.indrenipost.com/posts/9643
    साउन १२, २०८२ सोमबार
    व्यावसायिक किसानका लागि सहुलियत कर्जामा ५ प्रतिशत ब्याज अनुदान

    काभ्रेपलाञ्चोक, १२ साउनः बेथानचोक गाउँपालिकाले स्थानीय किसानलाई उद्यमशील र आत्मनिर्भर बनाउन ऋणको ब्याजमा ५ प्रतिशत अनुदान दिने भएको छ । व्यावसायिक रुपमा कृषि फर्म सञ्चालन गर्न इच्छुक किसानहरूका लागि चालु आर्थिक वर्षदेखि सुरु गरिएको यस योजना अन्तर्गत हालसम्म २४ वटा कृषि फर्म छनोट भइसकेका छन् ।
    गाउँपालिकाले किसानलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले जिल्लास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको छ । योजना अन्तर्गत न्यूनतम ६ महिना देखि अधिकतम ५ वर्ष अवधिका लागि अधिकतम २० लाख रुपैयाँसम्मको कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिइनेछ । किसानले भने जम्मा ४ प्रतिशत मात्रै ब्याज तिर्नुपर्नेछ ।
    कार्यक्रम अन्तर्गत छनोट गरिएका फर्मका प्रतिनिधिहरूसँग गाउँपालिकाले व्यवसायिक योजना र तालिमसमेत सञ्चालन गरिसकेको छ । ‘स्थानीय कृषि उद्यमीलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०८०’ अनुसार कार्यान्वयनमा ल्याइएको यो कार्यक्रम बाढीपहिरोबाट प्रभावित खण्डहर जमिनलाई उर्वरा बनाउँदै किसानलाई दीगो उद्यममा जोड्ने रणनीतिक थालनी भएको जनाइएको छ ।
    गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार, यहाँका अधिकांश बासिन्दा कृषिमा आधारित भएकाले यस योजनाबाट कृषि क्षेत्रमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्दै गाउँपालिकालाई आत्मनिर्भर स्थानीय तहको रूपमा स्थापित गर्ने लक्ष्य लिएको हो ।
    यस कार्यक्रमले वैदेशिक रोजगारीको आकर्षण कम गर्नसमेत भूमिका खेल्ने विश्वास लिइएको छ । गाउँपालिकाले २१ देखि ४५ वर्ष उमेर समूहका युवा लक्षित गरी कृषि, पशुपालन, मौरीपालन, जडीबुटी उत्पादन, मसला खेती, तरकारी तथा फलफूल प्रशोधनलगायतका विभिन्न क्षेत्रमा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
    नेपाल सरकारबाट मान्यता प्राप्त कृषि उद्यमहरूलाई एक वर्षदेखि दुई वर्ष अवधिसम्मको कर्जामा अनुदान दिइनेछ । यसले किसानलाई दीगो उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij