काठमाडौँ, १८ साउनः देशका विभिन्न स्थानमा लगातार भइरहेको वर्षाका कारण नदीहरूको जलसतह उच्च हुँदै गएकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भक्तपुरको हनुमन्ते खोला अन्तर्गत कौशलटार जलमापन केन्द्रमा जलसतह सतर्कता तहको आसपासमा पुगिसकेको र अझै बढ्ने सम्भावना रहेकाले नदी किनारका बासिन्दा तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, रुकुमपश्चिमको ठूलो भेरी र रिम्ना जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तहमा पुगेको र बढ्ने क्रम जारी रहेको विभागको भनाइ छ । नदी किनारमा बसोबास गर्ने तथा डुबानको जोखिममा रहेका होचा स्थानका बासिन्दालाई बिहानसम्म सतर्क रहन अनुरोध गरिएको छ ।
म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी किनार, भिरालो तथा कमजोर जमिन भएका क्षेत्रमा पहिरोको खतरा रहेको विभागले जनाएको छ । विभागले रातिको समयमा सूचना जारी गर्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेको छ ।