भीमफेदी, २१ साउन – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राप्ती नगरपालिका–१ निवासी करिब ३५ वर्षीय लालबहादुर मोक्तानको खेतमै करेन्ट लागेर ज्यान गएको हो ।
मोक्तानले आफ्नै खेतमा बाली जङ्गली जनावरबाट बचाउनका लागि नाङ्गो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए । बिहान करिब ९ बजेतिर खेतको निगरानी गर्न गएका बेला उनी ती करेन्टयुक्त तारमा छोइएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिएका छन ।