बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

गत वर्ष इरानमा ८३४ लाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च


  • 514
    SHARES
  • https://www.indrenipost.com/posts/7126
    फागुन २३, २०८० बुधबार
    गत वर्ष इरानमा ८३४ लाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च

    इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् ।

    इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो । इरानले हालैका वर्षहरूमा फाँसी दिएर कार्यान्वयन गरेको मृत्युदण्डको सङ्ख्या सन् २०२२ मा करिब ४३ प्रतिशतले बढेको छ ।

    नर्वेस्थित ह्युमन राइट्स (आइएचआर) र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीको संयुक्त प्रतिवेदनमा एक वर्षमा आठ सयभन्दा बढी मृत्युदण्डको सजाय दुई दशकमा यो दोस्रो पटक भएको बताएका छन् ।

    सन् २०१५ मा नौ सय ७२ लाई मृत्युदण्ड दिइएको थियो । दुवै समूहले इरानमाथि सन् २०२२ सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि अधिकारीहरूलाई हल्लाएको विरोध प्रदर्शनका क्रममा इरानले समाजमा डर फैलाउनका लागि मृत्युदण्डको सजायको प्रयोग गरेको आरोप लगाएका छन् ।

    आइएचआरका निर्देशक महमुद अमिरी–मोघद्दमले प्रतिवेदनमा भन्नुभएको छ, “सामाजिक त्रास उत्पन्न गर्नु भनेको सत्तामा टिकिरहने शासनको एक मात्र तरिका हो र मृत्युदण्ड यसको सबैभन्दा महत्त्वपूर्ण साधन हो ।”

    प्रतिवेदनमा आठ सय ३४ को आँकडालाई ‘आश्चर्यजनक कूल’ भनिएको छ । अधिकार समूहहरूका अनुसार इरानले सन् २०२२ को विरोध प्रदर्शनहरूमा सुरक्षा बलमाथि हमलासँग सम्बन्धित मामिलामा नौ जनालाई मृत्युदण्ड दिएको छ ।

    तीमध्ये सन् २०२२ मा दुई, सन् २०२३ मा छ र सन् २०२४ मा एक जनालाई मृत्युदण्ड दिइएको छ । यद्यपि अन्य आरोपहरूमा मृत्युदण्डको सजयालाई बढाइएको छ । विशेषगरी हालैका वर्षमा गिरावट देखिएको लागुपदार्थसम्बन्धी मामिलामा मृत्युदण्डको सजाय बढेका छन् ।

    “सन् २०२३ मा लागुपदार्थसँग सम्बन्धित मृत्युदण्डको सङ्ख्यामा नाटकीय वृद्धि हुनु विशेष चिन्ताको विषय हो, यो बढेर चार सय ७१ सम्म पुगेको छ । सन् २०२० मा रेकर्ड गरिएको आँकडाको तुलनामा यो १८ गुणा बढी हो”, प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदनमा जातीय अल्पसङ्ख्यकका सदस्यहरू विशेषगरी इरानको दक्षिणपूर्वबाट सुन्नी बलुचलाई लागुपदार्थसँग सम्बन्धित आरोपमा ‘मृत्युदण्ड दिइएका मानिसहरूमा अत्यधिक प्रतिनिधित्व गरिएको’ बताइएको छ ।

    समग्रमा बलुच अल्पसङ्ख्यकका कम्तीमा एक सय ६७ सदस्यलाई मृत्युदण्ड दिइएको छ । यो सन् २०२३ मा कूल मृत्युदण्ड सङ्ख्याको २० प्रतिशत हो । बलुच अल्पसङ्ख्यकको जनसङ्ख्या इरानमा केवल पाँच प्रतिशतको हाराहारीमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij