भोजपुर, १९ साउन – भोजपुरको षडानन्द नगरपालिका–३ खार्तम्छामा अवस्थित १३९ मिटर अग्लो ‘छाँगे झरना’ आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार तथा प्रदेश सरकारको चासो बढेपछि यस प्राकृतिक सम्पदाले देशी पर्यटकलाई लोभ्याउन थालेको छ ।
भोजपुर जिल्लाको सबैभन्दा अग्लो झरना मानिने छाँगे झरनामा षडानन्द नगरपालिकाको अगुवाइमा पदमार्ग, विश्रामस्थल, खानेपानी तथा अन्य संरचना निर्माण गरिँदैछ । नगरप्रमुख सुरेन्द्रकुमार उदासका अनुसार झरनाको प्रचारप्रसार र पूर्वाधार विकास दुवैमा नगरपालिकाले प्राथमिकता दिएको छ ।
“छाँगे झरनाको संरक्षण तथा पूर्वाधार विकासमार्फत यसलाई स्थायी पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेका छौँ,” प्रमुख उदासले भने, “धार्मिक तथा प्राकृतिक स्थललाई समेट्दै एकीकृत पर्यटकीय क्षेत्रको विकास गर्ने योजना पनि अघि बढेको छ ।”
नगरपालिकाले झरनालाई जोड्ने मार्गमा सतीघाटको सतीढुङ्गा, कुन्सालिङ डाँडा, हाँस पोखरी, साउने डाँडा, ओमकार शक्तिपीठ र योगमायाको समाधिस्थल समेत समेटेर एकीकृत पर्यटन प्रवर्द्धनमा ध्यान दिइरहेको छ ।
स्थानीयवासी सुरज बस्नेतका अनुसार झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ । खानेपानी, फलैचाजस्ता पूर्वाधार बनाइएपछि पर्यटकलाई सहजता भएको छ । झरनाको संरक्षणपछि आगन्तुकको सङ्ख्या बढेको छ, बस्नेतले बताए, तर अझै पनि यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बाँकी छ ।
स्थानीयले छाँगे झरनालाई प्रकृतिको अनुपम उपहार मान्दै आएका छन् । माथिबाट झर्ने सेतो फोहराको दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ । झरना आसपासको वातावरण शान्त, हरियाली र धार्मिक आस्थासँग पनि जोडिएको हुँदा यसलाई बहुआयामिक गन्तव्यको रूपमा विकास गर्नुपर्ने माग गरिएको छ ।
“राज्यले यस्ता ओझेलमा परेका पर्यटकीयस्थलको पहिचान गरेर लगानी बढाउनु आवश्यक छ,” स्थानीय समाजसेवी गणेश अधिकारीले बताए ।
छाँगे झरना संरक्षण, प्रचार र पूर्वाधार विकाससँगै भोजपुर मात्र नभई कोशी प्रदेशकै एक महत्वपूर्ण पर्यटकीय सम्पदा बन्ने सम्भावना राख्दछ ।