सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

बाढीपीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनामा सांसदहरुको जोड


  • 775
    SHARES
  • https://www.indrenipost.com/posts/9482
    असार २६, २०८२ बिहीबार
    बाढीपीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनामा सांसदहरुको जोड

    काठमाडौँ, २६ असारः सांसदहरूले ‘सुप्राग्लेशियल लेक हिमताल फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिएका छन।
    आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनिहरूले विपद्सँग जुध्न, प्रकोपपूर्व, प्रकोप परिसकेपछि आपतकालीन चरण र पुनःस्थापनाको चरणमा सरकारले प्राथमिकताका साथ नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
    समितिका सभापति मायाप्रसाद शर्माले बाढीपीडितलाई समयमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माण गर्नुपर्ने तथा बस्ती र पूर्वाधार विपद्मैत्री निर्माण गर्नुपर्नेमा जोड दिएका छन। सांसद पदम परियारले बाढीबाट क्षति पुगेकालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने र भत्किएका संरचना छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए । 
    “हामीले विपद्का घटनापछि मात्र होइन, विपद् कसरी न्यूनीकरण र व्यवस्थापन गर्ने भन्नेमा उत्तिकै प्राथमिकता दिनुपर्छ,” उनले भने, “हाम्रो पूर्वतयारीको अवस्था निकै कमजोर छ । तसर्थ पूर्वतयारी र प्रतिकार्यमा लगानी बढाउनुपर्छ ।”
    सांसद रुक्मिणी कोइरालाले उद्धार र राहत व्यवस्थापन समयमै गर्नुपर्ने तथा नाका खुलाउनुपर्नेमा जोड दिएकी छन । सांसद रेणु चन्दले विपद् व्यवस्थापन र पुनःस्थापनामा ध्यान दिन सरकारलाई सुझाव दिइन । सांसद मदनकुमारी शाहले जतिबेला मनसुनजन्य विपद्को समस्या आउँछ, त्यतिबेलाभन्दा अग्रिम पूर्वतयारी आवश्यक रहेको बताइन । “विपद्पछि हामी उद्धार, राहत र पुनःस्थापनामा त फोकस गर्छौँ, तर पूर्वतयारी कसरी गर्ने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्नेमा ध्यान दिन सक्दैनौँ,” उनले भनिन, “पूर्वतयारी र पूर्वसूचनालाई प्राथमिकता दिँदै नीतिमा पुनर्विचार आवश्यक छ ।”
    सांसद श्रीकृष्ण अधिकारी, नरबहादुर विष्ट, सुमित्रा विसीलगायतले विपद्बाट पाठ सिक्नुपर्ने तथा पुनःस्थापना र उद्धार समयमा गर्नुपर्नेमा जोड दिए। जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको छ ।
    विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल लेक फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij