आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी, समसामयिक राजनीतिक प्रस्तावमा हुँदैछ गम्भीर छलफल


  • 451
    SHARES
  • https://www.indrenipost.com/posts/9705
    साउन १८, २०८२ आइतबार
    माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी, समसामयिक राजनीतिक प्रस्तावमा हुँदैछ गम्भीर छलफल

    काठमाडौँ, १८ साउनः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र को स्थायी समितिको बैठक आज पनि बस्दैछ । यही साउन १६ गतेदेखि सुरु भएको बैठकमा पार्टीको आन्तरिक रणनीति, राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका र आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल भइरहेको छ ।
    बैठक आज बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने कार्यक्रम रहेको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावलाई लिएर स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ ।
    शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच जना पदाधिकारी तथा एक जना अनुशासन आयोगका पदाधिकारीले आफ्नो विचार प्रस्तुत गरेका थिए । उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, सरकारसँगको सम्बन्ध, आन्दोलनका सम्भावित रूपरेखा तथा संगठनात्मक सुदृढीकरणका विषयमा विभिन्न सुझाव र टिप्पणी दिएका थिए ।
    अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा हालको गठबन्धन सरकारसँगको सम्बन्धको समीक्षा, आमजनताको असन्तोषप्रति पार्टीको धारणा, जनयुद्धकालीन मुद्दा तथा संक्रमणकालीन न्याय प्रक्रियामा पार्टीको स्पष्ट दृष्टिकोण, आगामी निर्वाचनको तयारी तथा जनसंगठनहरूको पुनर्संरचनाजस्ता विषय समेटिएको बताइएको छ ।
    प्रवक्ता सापकोटाका अनुसार, स्थायी समितिको बैठकमा सदस्यहरूबीच व्यापक विमर्श भईरहेको छ र आवश्यक परे थप दिनसम्म पनि बैठक निरन्तर चल्नेछ । बैठकको निष्कर्षपछि पार्टीले सार्वजनिक रूपमा आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
    यतिबेला देशको राजनीतिमा चाप बढिरहेका बेला माओवादी केन्द्रको यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ । पार्टीभित्र वैचारिक स्पष्टता, नेतृत्वप्रतिको विश्वास र रणनीतिक सहमति निर्माणका हिसाबले पनि यो बैठक निर्णायक बन्ने अनुमान गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij