सिरहा, १९ साउनः मिर्चैया नगरपालिका–२ को मल्हनियाँ पिराडी र वडा नं १२ स्थित सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बिहानको बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।
पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत बस्तीका बासिन्दालाई मिर्चैया बजार आउजाउ गर्न कठिनाइ भएको छ । स्थानीयहरूका अनुसार अनियन्त्रित रुपमा खोलाबाट बालुवा र माटोको उत्खननका कारण पुलको आधारभूत संरचना कमजोर बनेको थियो ।
वडा नं १२ का अध्यक्ष मनेलाल यादवले भने, “स्थानीयले पटक–पटक अवैध उत्खननको विरोध गरे पनि सरोकारवाला निकायले बेवास्ता गर्यो । अहिलेको यो अवस्था त्यही लापरबाहीको नतिजा हो ।”
करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त पुल वरपर पछिल्लो समय जेसिबी प्रयोग गरी माटो उत्खनन गरिएको थियो । खोलाको ‘सफाइ’को नाममा भएको यस्तो कार्यले पुललाई थप जोखिममा पार्दै आएको स्थानीयको आरोप छ ।
वर्षा अझै जारी रहेकाले आसपासका बासिन्दा अझै सतर्क रहनुपर्ने अवस्था देखिएको छ । स्थानीय बासिन्दाले तत्काल वैकल्पिक व्यवस्थाको माग गरेका छन् ।