राजविराज सप्तरी, २१ साउनः मदिरा तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको प्रहरी सर्च अपरेसनका क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । राजगढ गाउँपालिका –२ कमलपुरका ३६ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार भारतीय सीमासँग सटेको क्षेत्रमा अवैध रुपमा भण्डारण गरिएको मदिरा बरामद गर्न खटिएको टोलीमाथि स्थानीयले घेरा हालेर ढुङ्गामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको थियो । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले यादवको तिघ्रामा गोली लागेको र गम्भीर घाइते अवस्थामै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जानकारी दिनकारी दिएका छन ।
सर्च अपरेसनका क्रममा प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा समेत बरामद गरेको छ । घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षा थप कडा पारिएको छ ।
यसअघि पनि चार दिनअघि मात्रै छिन्नमस्ता गाउँपालिका –१ बरहीविरपुरमा प्रहरीले हवाई फायर गर्दै हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन् ।