काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनीको नाफा उल्लेख्य बढेको छ । सो अवधिसम्म टेलिकमले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
मंगलबार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४८ दशमलव ९० प्रतिशत वृद्धि भएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानीसमेत ८ दशमलव ३९ प्रतिशत बढेको छ । गत वर्ष १० अर्ब १० करोड ४४ लाख ७५ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ९५ करोड २३ लाख ४६ हजार आम्दानी गरेको हो ।
हाल १५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६० दशमलव २६ र प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा छ ।