द्वन्द्ववाद दार्शनिकहरुको दिमागबाट आफ्सेआफ उब्जेको दर्शन होइन , यो उन्नाइसौँ शताब्दीसम्मको ज्ञान र विज्ञानको विकासलाई दही मथनी गरेर निकालिएको बैचारिक नौनी हो । उन्नाइसाँै शताब्दीसम्म ज्ञान र विज्ञानको क्षेत्रमा जे जति नयाँ नयाँ ज्यादै महत्वपूर्ण आविष्कार वा युगान्तकारी निष्कर्षहरु निक्ले , त्यसैको जगमा त्यसैलाई संश्लेषण गरेर द्वन्द्ववाद विकसित भएको हो ।
सर्वप्रथम हेगेलले र त्यसपछि माक्र्स र एंगेल्सले ज्ञान र विज्ञानको आफ्नो समयसम्मको उँचाइलाई दहीझैँ मथेर द्वन्द्ववादको नौनी विकास गर्नुभएको हो ।
माक्र्स र एंगेल्सले भौतिकवादी द्वन्द्ववादको दर्शन विकास गर्दा के कुरामा अत्यन्त सावधान गराउनुभएको छ भने द्वन्द्ववादको नियमअनुसार प्रकृति चल्छ कि चल्दैन , द्वन्द्ववादका निष्कर्षहरु समाज र प्रकृतिमा मेल खान्छन् कि खाँदैनन् भनेर हेर्ने होइन , बरु त्यसको ठीक उल्टो , प्रकृति र समाजबारेको सबैभन्दा पछिल्लो खोजबाट निक्लेको सत्यको आधारमा द्वन्द्ववादलाई परिष्कृत र परिमार्जित गर्ने हो । द्वन्द्ववादलाई प्रकृतिमाथि लाद्ने कुरा होइन , बरु त्यसको ठीक विपरीत प्रकृति र प्रकृति विज्ञानको पछिल्लो उँचाइका आधारमा द्वन्द्ववादलाई उभ्याउने कुरा हो ।
एंगेल्सले प्रसिद्ध दार्शनिक ग्रन्थ – ‘ ड्यूहरिंग विचारको खण्डन ’ को भूमिकामा प्रष्ट रुपले भन्नुभएको छ – “ मेरो हकमा द्वन्द्ववादका नियमहरु प्रकृतिमाथि लाद्ने कुनै सवाल नै छैन , बरु प्रकृतिमा द्वन्द्ववादका नियमहरु पत्तो लाउने र यसैबाट तिनीहरुको विकास गर्ने कुरो हो । ” ( हेर्नुहोस् पेकिङबाट १९७८ मा प्रकाशित ब्लतष् म्गजचष्लन को पृष्ठ १३ )
यसो भएको हुनाले प्रकृति र समाज विज्ञानका क्षेत्रमा जे जति नयाँ खोज र विकास हुन्छन् , द्वन्द्ववादका पक्षपातीहरुले त्यसको खोजखबर राख्नुु आवश्यक छ र त्यसैको आधारमा द्वन्द्ववादलाई लगातार विकसित गरी राख्नु जरुरी छ । द्वन्द्ववाद र द्वन्द्ववादका नियमहरु कुनै अन्तिम र परिष्कारभन्दा बाहिरका विषयवस्तुहरु होइनन् , ती हमेशा विकास र परिमार्जन गरी राख्नुपर्ने सवालहरु हुन् । द्वन्द्ववादको एउटा मुख्य सार नै के हो भने संसारमा केही पनि कुरा अन्तिम छैन । र , संसारमा केही पनि कुरा अन्तिम छैन भन्ने एउटा निष्कर्ष मात्रै संसारमा एकमात्र अन्तिम वैज्ञानिक निष्कर्ष हो ।
यो परिप्रेक्ष्यमा बीसौँ शताब्दीमा भएका केही अभूतपूर्व र ज्यादै महत्वपूर्ण बैज्ञानिक विकास र उपलब्धिहरुबाट आजको युगका द्वन्द्ववादीहरुले दही मथनी गर्नु जरुरी भएको छ । त्यसको आधारमा द्वन्द्ववादका नियमहरु र निष्कर्षहरुमा परिमार्जन र परिष्कार गर्नु जरुरी भएको छ ।
त्यसमध्ये बीसौँ शताब्दीको सबैभन्दा महत्वपूर्ण मध्ये एक वैज्ञानिक उपलब्धि हो – अल्वर्ट आइन्स्टाइनको विशेष सापेक्षतावाद र सामान्य सापेक्षतावादको सिद्धान्त । आइन्स्टाइनले विशेष सापेक्षतावादको सिद्धान्त विश्वसमक्ष सन् १९०५मा प्रस्तुत गर्नुभएको थियो भने सामान्य सापेक्षतावादको सिद्धान्त सन् १९१६ मा । दुवै सिद्धान्तले विश्वको वैज्ञानिक चिन्तन प्रणालीमा ठूलो हेरफेर ल्याउन ठूलो भूमिका खेलेका थिए । भौतिक विज्ञानका क्षेत्रमा अहिले पनि ती दुई सिद्धान्तलाई एक व्यक्तिद्वारा हाँसिल अहिलेसम्मको सबैभन्दा ठूलो बैज्ञानिक उपलब्धि मानिन्छ ।
ती सिद्धान्तहरुद्वारा द्वन्द्ववादले के सिक्न जरुरी छ ? ती सिद्धान्तहरुका आधारमा द्वन्द्ववादमा के परिमार्जन ल्याउनु जरुरी छ ? यस लेखको मुख्य सरोकारको विषय यही हो । यो छोटो लेखमा विस्तृतमा ती सिद्धान्तहरुको व्याख्या विश्लेषण गर्नु असम्भव छ । त्यसैले ज्यादै संक्षिप्तमा र ती सिद्धान्तहरुका सार कुराहरुको मात्र यहाँ चर्चा र विश्लेषण गर्ने कोशिस हुनेछ ।
आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्त
अल्वर्ट आइन्सटाइनले विशेष सापेक्षतावादको सिद्धान्तमार्फत केही विल्कुलै नयाँ युगान्तकारी बैज्ञानिक सोचहरु अघि सार्नुभएको देखिन्छ ।
यस अघिसम्म म्याक्सवेल नाम गरेका बैज्ञानिकले ल्याउनुभएको इथर (भ्तजभच ) को धारणा माथि वैज्ञानिकहरुले भरोसा गर्दै आएका थिए । प्रकाश तरंगका रुपमा गतिवान हुन्छ र तरंगका रुपमा गतिवान हुनका लागि कुनै न कुनै माध्यम चाहिन्छ , इथरलाई त्यही प्रकाशको यात्राको माध्यमको रुपमा म्याक्सवेलले प्रस्तुत गरेका थिए ।
आइन्स्टाइनले विल्कुलै नयाँ अवधारणा ल्याए – प्रकाशको यात्राको निम्ति कुनै माध्यमको जरुरत छैन भनेर । म्याक्स प्लांक नाम गरेका बैज्ञानिकले हालै विकसित गरेको क्वान्टम सिद्धान्तका आधारमा उनले यो धारणा विकसित गरेका थिए । क्वान्टम सिद्धान्तका अनुसार प्रकाशले तरंगका रुपमा होइन क्वान्टा अर्थात् अनिरन्तर प्याकेटको रुपमा यात्रा गर्छ । प्रकाशले अनिरन्तर प्याकेटको रुपमा यात्रा गर्ने हो भने प्रकाशको यात्राको लागि इथरको माध्यमको कुनै जरुरत नै पर्दैन । त्यसैले आइन्स्टाइनले इथरको अस्तित्वको अवधारणामाथि नै प्रश्न खडा गरे ।
आइन्स्टाइनले के नयाँ धारणा अघि सारे भने शून्यमा प्रकाशको गति सधैँ स्थिर रहन्छ । चाहे प्रकाशको स्रोत चलायमान होस् वा नहोस् , चाहे प्रकाशको गति नापिरहेको दर्शक चलायमान होस् वा नहोस् , प्रकाशको गतिमा केही फरक पार्दैन , प्रकाशको गति एकनासको रहन्छ ।
मिकेल्सन् र मोर्ले नाम गरेका बैज्ञानिकले केही वर्षअगाडि गरेको इथरको अस्तित्वबारेको प्रयोगको निष्कर्षको जगमा टेकेर आइन्स्टाइनले यी नयाँ धारणा विकसित गरेका थिए ।
प्रकाशको सापेक्ष गति सधैँ उस्तै रहन्छ , यो अरु कुनै पनि वस्तुको सापेक्षतामा कहिल्यै बदलिँदैन , बरु अरु वस्तुहरु चाहिँ एक अर्काको सापेक्षतामा बदलिन्छन् भन्ने आइन्स्टाइनको यो निष्कर्षले न्युटनले विकसित गरेको भौतिक विज्ञानलाई नयाँ उचाइमा उठायो ।
विश्वको वैज्ञानिक चिन्तनमा कायापलट ल्याउने गरी आइन्स्टाइनले विशेष सापेक्षतावादको सिद्धान्तमार्फत् विकसित गरेको नयाँ अवधारणा के थियो भने पिण्ड , स्थान र समय भनेका सबै सापेक्ष कुराहरु हुन् । यी सबै वस्तुको गतिअनुसार बदलिन्छन् । वस्तु कति छिटो गतिमा चलिरहेछ भन्ने आधारमा पिण्ड , स्थान र समय फरक हुने गर्दछ । अन्य द्रष्टाको आँखाले हेर्दा वस्तु जति छिटो गतिमा चलायमान हुन्छ पिण्ड त्यति ज्यादा हुन्छ , त्यसले लिने स्थान उति कम हुन्छ र समय उति ढिलो गतिमा चल्दछ । वस्तुको गति जति ज्यादा प्रकाशको गतिको नजिकको हाराहारीमा पुग्छ , यी असरहरु उति ज्यादा
मानिलिनुहोस् , दुईटा जुम्ल्याहा बच्चा भर्खरै जन्मिए र त्यसमध्ये एउटालाई मानव निर्मित यानमा राखेर प्रकाशको गतिको ९० प्रतिशत गतिमा अन्तरिक्षमा पठाइयो , अनौठो परिणाम के निक्लन्छ भने पृथ्वीमा फर्कदा त्यो यानको बच्चा केबल ५ वर्षको हुँदा पृथ्वीमा भएको बच्चा चाहिँ १० वर्षको भइसकेको हुन्छ । अझ त्यो यान प्रकाशको गतिको ९९.९९ गतिमा चलाइयो भने झन् ज्यादै आश्चर्यजनक परिणाम निक्लन्छ ः पृथ्वीमा उत्रदा यानको जुम्ल्याहा बच्चा केबल ६ महिनाको हुनेछ , पृथ्वीमा रहेको जुम्ल्याहा बच्चा चाहिँ ५० वर्षको बूढो भइसकेको हुनेछ ।
त्यसैले आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्तले भन्छ – समय भनेको सापेक्ष कुरा हो । समय सबै स्थितिमा उही गतिले चल्दैन । वस्तुको गतिको दरको सापेक्षतामा समय व्यतित हुन्छ । वस्तु जति ज्यादा गतिमा चल्यो , समय उति ढिलो गतिमा चल्दछ । कम गतिमा चलायमान घडीभन्दा ढिलो टिक्टिक् गर्छ ।
आइन्स्टाइनको विशेष सापेक्षतावादको सिद्धान्तले के पनि देखायो भने समय वस्तुको गतिको सापेक्षतामा मात्र फरक हुने होइन , वस्तु कहाँ छ त्यसको सापेक्षतामा समेत फरक हुने गर्दछ । उदाहरणको लागि एकै समयमा जन्मिएको जुम्ल्याहा बच्चामध्ये एक जनालाई पर्वतको टुप्पामा लगियो र अर्को लाई समुद्रको सतहको लेभलको समतलमा राखियो भने अनौठो परिणाम निक्लन्छ ः दुईटा बच्चालाई केही वर्ष पछि पुनः भेटाइयो भने पर्वतको टुप्पामा रहेको जुम्ल्याहा बच्चा समुद्री लेभलमा रहेको बच्चाभन्दा चाँडै ज्यादा बूढो भएको हुन्छ । पहिलो बच्चाको उमेर दोस्रो बच्चाको उमेरभन्दा ज्यादा चढेको हुन्छ । यसप्रकार , आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले निरपेक्ष समयको धारणालाई नै अन्त्य गरेको छ । समयको नापो वस्तु र व्यक्तिको स्थान र गतिअनुसार फरक हुन सक्छ । यो केमा भर पर्छ भने वस्तु वा व्यक्ति कहाँ छ र त्यो कसरी चलिरहेछ ।
संश्लेषण
द्वन्द्ववादले आइन्स्टाइनभन्दा अघि नै के धारणा ल्याइसकेको थियो भने पदार्थ गतिशिल छ र पदार्थको गति स्थान र समयमा बाहेक अन्यत्र घटित नै हुँदैन । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले द्वन्द्ववादको त्यो अवधारणालाई गलत सावित गरेको छैन , बरु त्यसमा नयाँ उँचाइ थप्न , परिष्कार ल्याउन मद्दत गरेको छ । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई संश्लेषण गर्ने हो भने द्वन्द्ववादमा अब के नयाँ कुरा थप्नु जरुरी भएको छ भने ब्रह्माण्डमा हरेक बस्तु समय र स्थानमा गतिशील हुने मात्र होइन , समय आफैँ पनि वस्तुको गतिअनुसार र स्थानअनुसार ज्यादा वा कम गतिशील हुने गर्छ । समय वस्तुको गति सापेक्ष र स्थान सापेक्ष कुरा हो । समय निरपेक्ष कुरो होइन । खालि समय मात्र होइन , पिण्ड र स्थानसमेत सापेक्ष कुरा हुन् । अन्य द्रष्टाको आँखाले हेर्दा , वस्तुको गति जति तेज हुन्छ , पिण्ड त्यति ज्यादा हुन्छ , त्यसले लिने स्थान उति कम हुन्छ र समय उति ढिलो गतिमा चल्दछ ।
प्रज्ञान रत्न
मूल्याङ्कन मासिक वर्ष १८ पूर्णाङ्क ८५ चैत , २०५७ मा प्रकाशित