काठमाडौं । गाडी बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित गर्दै गाडीमा भारी नगद छुट ल्याएका छन् । कम्पनीहरुले एउटै गाडी खरिदमा नगदै ३ लाखसम्मको छुट ल्याएका हुन् ।
कम्पनीहरुले नगद छुटसँगै एक्सचेञ्ज, सडक दस्तुर, डाउनपेमेन्ट, सस्तो ब्याजदरका अफर पनि सार्वजनिक गरेका छन् । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले दशैं तिहार अफरमा २ लाखसम्म नगद छुट दिएको छ ।
टाटाले नेपालमा प्यासेन्जर भेहिकलमा सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, टियागो, एच ५ का गाडी बिक्री गर्दै आएको छ । टाटाले नेक्सन ईभीको गाडी समेत नेपाल भित्र्याइसकेको छ । हुन्डाई नेपालले तीन लाखसम्मको नगद छुट दिएको छ । त्यसबाहेक स्क्रयाच कार्डबाट १ लाखसम्मको छुट पाइने उल्लेख गरेको छ ।
नेपाली बजारमा ठूलो बजार हिस्सा ओगटेको हुन्डाईले सेन्ट्रो, ग्रान्ड आई १०, आई २०, आउरा, भेन्यु, क्रेटा, टक्सन, आउरा बिक्री गर्दै आएको छ । विद्युतीयमा आईकोनिक र कोना गाडी बिक्री गर्दै आएको उल्लेख गरेको छ ।
सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले २ लाखसम्म नगद छुट दिएको छ । एक्सचेञ्ज गर्दा १ लाख ५० हजार बोनस र स्क्रयाच कार्डमा ७५ हजारसम्मका अफर ल्याइएको छ । सुजुकीले नेपालमा अल्टो, डिजायर, बलेनो, एसप्रेसो, स्विफ्ट, भिटारा ब्रेजा, एसक्रस, एक्सएल६ का प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको छ ।
निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले फेस्टिभ ड्राइभ अफर ल्याएको छ । जसमा २ लाख ५० हजार नगद छुट हुने उल्लेख गरेको छ । निशानको म्याग्नाइट, किक्स सबैभन्दा बढी गाडी बिक्री हुँदै आएको छ । पायोनियर मोटोकर्पले नै बिक्रीवितरण गर्दै आएको ड्याट्सनले नगद छुट १ लाख २५ हजारसम्म दिएको छ ।
ड्याटसनको गाडी खरिद गर्दा २८ हजार रुपैयाँको रेडमी नोट मोबाइल प्रदान गर्नेछ। ड्याट्सनले साढे २४ लाख र साढे २८ लाख रुपैयाँको गाडी बिक्री गर्दै आएको छ । डीएफएसके नेपालको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले २ लाख ५० हजारसम्म नगद छुट दिएको छ । डीएफएसकेको गाडीसँग एक्सचेञ्जमा ५० हजार बोनस दिने उल्लेख गरेको छ ।
प्रोटोनले दशैं दक्षिणा ल्याएको छ । कम्पनीले नगद छुट ५० हजारदेखि २ लाख ५० हजारसम्म दिएको छ । कम्पनीले सागा र एक्स ७० गाडी बिक्री गर्दै आएको छ । ग्रेटवाल मोटर्सले चाडपर्वको अवसरमा ६ लाखसम्मको सुविधा पाउने उल्लेख गरेको छ । कम्पनीले हावल जोलियन, हावाल एच६ र पोअरको गाडी बिक्री गर्दै आएको छ ।