सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त र द्वन्द्ववाद

  • 92.2K
    SHARES
  • https://www.indrenipost.com/posts/80
    फागुन १२, २०७६ सोमबार
    आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त र द्वन्द्ववाद

    अल्वर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा बीसौँ शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धि मानिन्छ । उनले यो सिद्धान्त सन् १९१६ मा विश्व जनसमुदायसमक्ष प्रस्तुत गरेका थिए । उनको यो सिद्धान्तले भौतिक विज्ञान र ब्रह्माण्ड विज्ञानको बुझाइमा एउटा ठूलो हेरफेर ल्याएको थियो ।

    सामान्य सापेक्षतावादको यो सिद्धान्तबाट द्वन्द्ववादले संगेट्नुपर्ने , संश्लेषण गर्नुपर्ने र सिक्नुपर्ने कुराहरु के के छन् ?

    यसअघिसम्म भौतिक विज्ञानमा स्थानको तीनवटा आयाम हुन्छ भन्ने धारणा हावी थियो , उँचाइ, लम्बाइ र चौडाइ अर्थात् तल–माथि , दायाँ–बायाँ र अगाडि–पछाडि । आइन्स्टाइनको यो सिद्धान्तले विल्कुलै नयाँ एउटा अवधारणा वैज्ञानिक जगतमा ल्याएको छ । त्यो के भने – स्थानको आयाम तीनवटा होइन , चारवटा हुन्छ र , चौथो आयाम हो समय । ब्रह्माण्डका सारा घटनाहरु स्थान–समयको चारवटा आयाममा घट्ने गर्छन् । पदार्थको गतिको प्रक्रियामा समयलाई स्थानबाट अलग्याउनै सकिन्न । स्थान र समय अत्यन्त अन्तरसम्बन्धित गतिशील वस्तुगत यथार्थमा आधारित अवधारणाहरु हुन् । गतिशील पदार्थको स्थानको कुरा सँगसँगै समयको कुरा आइहाल्छ ।

    आइन्स्टाइनले यो नयाँ वैज्ञानिक अवधारणा रुसी गणितशास्त्री हर्मन् मिन्कोवस्कीबाट लिएका थिए । मिन्कोवस्कीले विश्वमै पहिलोपटक सन् १९०७ मा यो अवधारणा गणितको सहाराबाट निकालेर पेश गरेको थिए । उनैले स्थानको तीनवटा आयाममा समयको चौथो आयाम थपेर ‘ स्थान समयको निरन्तर सिलसिला ’ को अवधारणा ल्याएका थिए ।

    द्वन्द्ववादले पदार्थलाई हमेशा गतिमा हेर्नुपर्छ भन्ने सोच प्रस्तुत गरेको छ , गतिशील पदार्थ समय र स्थानबाहेक अन्यत्र गतिशील नै हुँदैन भन्ने धारणा यसले अघि सारेको छ । यो धारणा प्रकृति विज्ञानकै पछिल्लो निष्कर्षको आधारमा प्रस्तुत गरिएको थियो र यो वैज्ञानिक थियो । तर आइन्स्टाइनले विकास गरेको पछिल्लो सापेक्षतावादको सिद्धान्तअनुसार पदार्थहरु समय र स्थानमा गतिशील हुने मात्र होइनन् , समय आफैँ पनि वस्तुको गति सापेक्ष र स्थान सापेक्ष कुरा हो । स्थान आफैँ पनि वस्तुको गतिसँग सम्बन्धित सापेक्ष कुरा हो । अन्य दर्शकको आँखाले हेर्दा वस्तु जति छिटो गतिमा चल्दछ , त्यसले लिने स्थान उति कम हुन्छ र समय उति ढिलो गतिमा चल्दछ भन्ने धारणा आइन्स्टाइनले विशेष सापेक्षतावादको सिद्धान्तमार्फत् सन् १९०५ मै ल्याइसकेका थिए । यही अवधारणामुताविक पनि स्थान र समय अत्यन्त अन्तरसम्बन्धित सापेक्ष कुरा हुन् भन्ने सोच आइसकेको थियो । परन्तु आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तले थप नयाँ अवधारणा विश्व जनसमुदायसामु ल्यायो । त्यो अवधारणा के हो भने ठूला पिण्डवाल वस्तुहरुको सामून्ने स्थान , समय दुवै बांगिने गर्दछन् । सबै कणहरुले र प्रकाशले पनि हमेशा छोटो बाटो वा रुट पक्रन्छ र जहाँ समय , स्थान बांगिन्छ , यी रुटहरु पनि बांगिने गर्दछन् । आइन्स्टाइनका अनुसार , पिण्डहरुले बांगिएको समय र स्थान पैदा गर्छन् । आइन्स्टाइनको निष्कर्ष यस्तो रह्यो – “ पदार्थले स्थानलाई कसरी बांगिने त्यो बताउने गर्छ र स्थानले पदार्थलाई कसरी चल्ने त्यो बनाउने गर्छ । ”

    हामीलाई आइन्स्टाइनका यी कुराहरु सुन्दा ज्यादै अनौठो लाग्छ । समय र स्थान पनि बांगिने रे ? के भनेको यो ? हाम्रो दिल दिमागमा प्रश्न उठ्छ । शुरुमा त वैज्ञानिकहरुलाई समेत आइन्स्टाइनको यो सिद्धान्तले चकित पारेको थियो । पत्याइ नसक्नुको कुरो भएको थियो यो । परन्तु सन् १९१९ मा यो सिद्धान्तलाई अवलोकनद्वारा परीक्षण गरेर हेरियो । पूर्ण सूर्यग्रहण अर्थात् खग्रास ग्रहण भएको समय पारेर बेलायती ब्रह्माण्डशास्त्री आर्थर एडिंगटनले गिनी खाडीको प्रिन्साश्य भन्ने स्थानमा र ब्राजिलमा यो सिद्धान्तको सत्यतालाई परीक्षण गरी हेरे । सूर्य त एउटा विशाल पिण्ड , त्यो पिण्डको नजिक पर्दा अर्को ताराको प्रकाशको गतिको स्थान र समय बांगिन्छ कि बांगिँदैन , त्यो पूर्ण ग्रहणको समयमा अवलोकनद्वारा परिक्षण गरेर हेरियो । अवलोकनमा यो विल्कुलै आइन्स्टाइनले भनेझैँ बांगिएको प्रमाणित भयो । सूर्यभन्दा टाढाको वा सूर्यपछाडिको अर्को ताराको प्रकाश पृथ्वीमा सिधा आउनुपर्नेमा बाटोमा सूर्यको पिण्डको कारणले आकर्षित भएर प्रकाश नै बांगिएर आएको पूर्ण ग्रहणको समयमा प्रष्टै देखियो । वैज्ञानिक जगतमा यो नयाँ तथ्यको उद्घाटनले ठूलो तहल्का मच्चायो । प्रकाश सधैँ सिधा बाटो मात्र हिँड्छ भनेर विश्वास राख्नेहरुमाथि यो अवलोकनले ठूलो प्रश्न चिन्ह खडा ग¥यो – प्रकाश त आखिर बांगो बाटो पनि हिँड्दोरहेछ ।

    यो वैज्ञानिक तथ्यको उद्घाटनले स्थान र समयलाई पिण्डसँग सम्बन्धित सापेक्ष कुराको रुपमा समेत देखायो । पिण्ड विशाल भयो भने समय र स्थानसमेत बांगिने गर्छ भनेर यसले प्रष्ट देखायो । आइन्स्टाइनले सामान्य सापेक्षतावादको सिद्धान्तमार्फत् के नयाँ वैज्ञानिक अवधारणा पनि जनसमक्ष ल्याए भने गुरुत्वाकर्षण भनेको पिण्डको सापेक्षतामा , स्थान र समयको बांगोपन हो । जसरी ठूलो रबरको पातामा विशाल वस्तु राखियो भने त्यसको सतह थेप्चिएर बांगिन्छ , ठीक त्यस्तै , ताराजस्तो ठूलो पिण्डवाल वस्तुले पनि स्थान र समयलाई थेप्च्याउँछ अर्थात् स्थान र समय बांगिन्छ । पिण्डले स्थान र समयमा जुन बांगोपन पैदा गर्छ , त्यो नै वास्तवमा गुरुत्वाकर्षण हो ।आइन्स्टाइनको यो नयाँ पत्तो–लगाइले विश्वमा गुरुत्वाकर्षणसम्बन्धी समझदारीमै ठूलो हेरफेर ल्याएको छ । स्थान र समयसम्बन्धी बुझाइमै यसले क्रान्ति ल्याइदिएको छ ।

    यो पनि..

    आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त र द्वन्द्ववाद

    हामी यसअघि कुनै पनि वस्तु स्थान र समयमा गतिशील हुने कुरा मात्र बुझिरहेका थियौँ । अब कुरा त्यतिमात्र रहेन । अब स्थान र समय आफैँ वस्तु वा पिण्डसित घनिष्ठ रुपले अन्र्तसम्बन्धित , त्यसको साइजसित समेत घनिष्ठ रुपले अन्र्तसम्बन्धित कुराका रुपमा बझ्नुपर्ने भयो । पहिलेको वस्तु स्थान र समयमा गतिशील हुने कुरा र अहिलेको स्थान र समय आफैँ वस्तुअनुसार र वस्तुको गतिअनुसार फरक–फरक हुने कुरा विल्कुलै भिन्नै र नयाँ अवधारणा हुन् । द्वन्द्ववादमा हामीले यो नयाँ अवधारणा थप्नु र संश्लेषण गर्नु परेको छ ।

    अब द्वन्द्ववादमा के कुरा थप्नु जरुरी भएको छ भने स्थान र समय कुनै निरपेक्ष र स्थिर मनगढन्त अवधारणा होइन , यो वस्तुसापेक्ष र वस्तुको गतिसापेक्ष वस्तुगत यथार्थमा आधारित अवधारणा हो । हामीले यसअघिसम्म स्थानको तीनवटा आयाम हुने कुरा मात्र बुझिरहेका थियौँ । हामीले पढेको शास्त्रीय द्वन्द्ववादमा यही कुरा थियो । परन्तु अब स्थानको चौथो आयाम पनि थपिएको छ– समयको आयाम । समय पनि स्थानकै एउटा आयाम हो भन्ने नयाँ धारणा अब थपिएको छ । पिण्डको गति र स्थानअनुसार समय फरक–फरक हुने गर्छ भन्ने वैज्ञानिक तथ्यमा यो नयाँ धारणा खडा भएको छ र यो बारम्बारको प्रयोगद्वारा सही प्रमाणित भएको नयाँ धारणाका रुपमा आएको छ । तसर्थ, द्वन्द्ववादले यो नयाँ धारणालाई पनि संगेट्नुपर्छ वा संश्लेषण गर्नुपर्छ भन्ने मलाई लाग्छ । हामी यसअघि ‘स्थान र समय’ भन्ने अलग अलग रुपमा स्थान र समयलाई बुझिरहेको थियौँ । अब त्यो शब्दावलीमा केही सच्याउनुपर्ने खण्ड आएको छ । अब स्थान र समय होइन – “ स्थान–समय ” भनेर शब्दावलीको प्रयोग गर्नुपर्ने खण्ड आएको छ । यस्तो किन गर्नुपरेको छ भने , यी दुइटा अलग भएर पनि यति अन्र्तसम्बन्धित अवधारणाका रुपमा देखिएका छन् । एउटाविना अर्कोको अस्तित्वको कल्पना नै गर्न सकिँदैन । गति भनेको पदार्थ आफैँ र पदार्थले स्थान निरन्तर रुपमा बदलिरहनु हो । हो, गति भनेको यही क्रममा समय निरन्तर रुपमा व्यतित हुनु हो । यी दुवै घटना हमेशा एकसाथ घटिरहेका हुन्छन् । तसर्थ, यी दुईलाई कहिल्यै अलग्याएर हेर्नै सकिँदैन । यही हुनाले – ‘ स्थान र समय ’ होइन – ‘ स्थान – समय ’ भन्ने शब्दावली प्रयोगमा ल्याउनु जरुरी छ ।

    मूल्याङ्कन मासिक, वर्ष १८ पूर्णाङ्क ८६ बैशाख , २०५८ मा प्रकाशित

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij