भरतपुर, ५ साउनः नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका – १५ सूर्यनगरका १५ वर्षीय मेक्सन पुन मगरको आज दिउँसो करिब ३ः३० बजे नारायणी नदी किनारको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मगर सहित पाँच जना साथीहरु पौडी खेल्न भरतपुर – १६ स्थित गणेश मन्दिर नजिकको नदी किनारमा गएका थिए । पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका उनलाई वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापन टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो ।
अस्पताल ल्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिएका छन ।