भरतपुर, ९ साउन — चितवनको भरतपुर महानगरपालिकाले कक्षा ११ अध्ययनरत ४३८ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ। विद्यालयमा भएका विद्यार्थीको सङ्ख्याका आधारमा गरिएको छनोट प्रक्रियामा सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थी परेका छन्।
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ दुबै कक्षामा छात्रवृत्तिको सुविधा पाउनेछन् । “गत वर्ष २६६ जनाले मात्र छात्रवृत्ति पाएका थिए, यसपटक ४३८ विद्यार्थी छनोट गरिएका छन्,” उनले भने ।
छनोटमा परेका विद्यार्थीमध्ये २१९ जना छात्रा छन् । छात्रवृत्तिका लागि कुल १,१६१ जनाले आवेदन दिएका थिए । विज्ञान विषयमा अध्ययन गर्ने ३३० जना र अन्य विषयमा १०८ जनाले छात्रवृत्ति पाउने भएका छन् । सामुदायिक विद्यालयबाट २२० र संस्थागत विद्यालयबाट २१८ जना विद्यार्थी छनोटमा परेका छन्।
महानगरले संशोधित छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ अनुसार १५ दिनको आवेदन अवधिमा अनलाइनबाट फाराम सङ्कलन गरेको थियो । जेहेन्दार, विपन्न, आदिवासी जनजाति, दलित, सीमान्तकृत, अपाङ्गता भएका, जनआन्दोलन तथा मधेश आन्दोलनका घाइते र बेपत्ता परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर छनोट गरिएको हो ।
छात्रवृत्तिमा परेका विद्यार्थीले भर्ना र मासिक शुल्क नतिरी अध्ययन गर्न पाउनेछन्, तर अन्य शुल्क भने विद्यार्थी आफैले व्यहोर्नुपर्नेछ। महानगरले छनोटमा परेका विद्यार्थीहरूलाई तीन दिनभित्र आवश्यक प्रमाणसहित दाबी पेश गर्न पनि अनुरोध गरेको छ।