बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

व्यावसायिक अकबरे खुर्सानीखेतीबाट भोजपुरका किसानको आम्दानीमा वृद्धि


  • 289
    SHARES
  • https://www.indrenipost.com/posts/9768
    साउन २२, २०८२ बिहीबार
    व्यावसायिक अकबरे खुर्सानीखेतीबाट भोजपुरका किसानको आम्दानीमा वृद्धि

    भोजपुर, २२ साउन – भोजपुरको पौवादुङमा गाउँपालिका–२, सोसेटारका देउमान राई विगत आठ वर्षदेखि व्यावसायिक अकबरे खुर्सानी खेती गर्दै आएका छन । यस वर्ष उनले २५ रोपनी क्षेत्रफलमा झन्डै १७ हजार बोट खुर्सानी रोपेका छन ।
    आफ्नै गाउँमै केही गर्नुपर्छ भन्ने सोचले यो काम थालेको हुँ, राईले भने । देशभरका युवामा वैदेशिक रोजगारीप्रतिको आकर्षण बढिरहेको अवस्थामा राईले भने आफ्नै भूमिमा कृषि कर्म रोजेका छन ।
    गाउँपालिकाले मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान दिएकाले खेती गर्न थप सहज भएको उनको भनाइ छ । साथै उनले आफ्नै फार्म मार्फत दुई जनालाई रोजगारी समेत दिएका छन । सडक सुविधा भएकाले उत्पादित खुर्सानी सजिलै घरबाटै बिक्री हुने गरेको पनि उनले बताए ।
    गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार, किसानको व्यावसायिक योजना अनुसार गाउँपालिकाले आवश्यक सहयोग पुर्‍याइरहेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि एम्बुलेन्स समेत खरिद गरिएको छ ।
    गत आर्थिक वर्षमा मात्र गाउँपालिकाले ७५० किसानलाई ७० लाख रुपैयाँभन्दा बढीको मल्चिङ प्लास्टिकलगायतका सामग्री वितरण गरेको थियो । प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएसँगै एक वर्षमै खुर्सानी बिक्रीबाट १८ करोड रुपैयाँ आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।
    हाल यहाँका करिब ८०० किसानले ५०० हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिरहेका छन् । उपाध्यक्ष ज्योत्सना राईका अनुसार, स्थानीय उत्पादन धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतका सहरमा ठेकेदारमार्फत पठाइने गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij