काठमाडौँ, २२ साउन २०८२ । श्रमिक वर्गको हक, हित र अधिकार सुनिश्चितताको साझा लक्ष्यका साथ नेपालका प्रमुख ट्रेड युनियन महासंघहरू एकै छातामुनि उभिएका छन् । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आबद्ध परिषद् आइटीयूसी न्याकको आयोजनामा तीन प्रमुख सदस्य महासंघहरू— अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ , नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र नेपाल ट्रेड युनियन काँग्रेस एनटियूसी — का लागि प्रभावकारी संचार सीप तथा प्रतिवेदन लेखन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
काठमाडौँको चन्द्रागिरि वडा नं. १ स्थित रमणीय कालुपाण्डे हिल्समा अवस्थित हिमालय रिसोर्टमा मिति २०८२ साउन २२ देखि २३ गतेसम्म सञ्चालन भइरहेको उक्त तालिमले श्रमिकहरूको पक्षमा गरिने वकालतलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेको छ । कार्यक्रममा तीनवटै महासंघका फोकल पर्सन तथा कर्मचारी गरी १७ जनाको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आइटीयुसी(न्याकका अध्यक्ष योगेन्द्र कुँवरले वर्तमान समयमा सूचनाको शक्ति र महत्वमाथि प्रकाश पारेका छन । उनले भने, आजको डिजिटल युगमा सही सूचनाको अभावमा कुनै पनि अभियान सफल हुन सक्दैन । हाम्रा सदस्य श्रमिकहरूको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउन र उनीहरूका अधिकार स्थापित गर्न हामी सूचना र सञ्चारमा अब्बल हुनैपर्छ । अध्यक्ष कुँवरले बदलिँदो विश्व परिवेशमा श्रमिक वर्गले भोग्नुपरेका चुनौतीहरूको सामना गर्न सबै संगठनहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकका साझा मुद्दाहरूमा सम्पूर्ण ट्रेड युनियन आन्दोलन एक हुनुपर्ने अवधारणा प्रस्तुत गरेका छन । उनले भने, हाम्रा वैचारिक र संगठनात्मक पहिचान फरक होलान्, तर जब श्रमिकको हक, हित र अधिकारको प्रश्न आउँछ, हामी सबै एक हौं र एक भएरै लड्नुपर्छ । यो तालिम हाम्रो एकतालाई थप मजबुत बनाउने एक महत्वपूर्ण कडी हो । उनले श्रमिकको अधिकारको पक्षमा एकजुट भएर लाग्दा मात्रै सफलता प्राप्त हुने कुरामा जोड दिएका छन ।
तालिमको मुख्य प्रशिक्षण विशिष्ट प्रशिक्षक अमरध्वज लामाले प्रदान गरेका छन । लामो समयदेखि सञ्चार र प्रशिक्षणको क्षेत्रमा सक्रिय लामाले सहभागीहरूलाई अनलाइन मिडियाको प्रभावकारी उपयोग, प्रचार सामग्री निर्माण, वेबसाइट व्यवस्थापन र प्रतिवेदन लेखनजस्ता अत्यन्तै व्यावहारिक र समयसापेक्ष विषयमा गहन जानकारी दिएका छन । उनले भने, एक प्रभावकारी ट्रेड युनियनका लागि सञ्चारमा दक्षता हुनु पहिलो शर्त हो । आफ्ना कुराहरूलाई आकर्षक ढंगले प्रस्तुत गर्न, लक्षित वर्गसम्म पुर्याउन र त्यसको अभिलेखीकरण गर्न सक्दा मात्र अभियानले सार्थकता पाउँछ । प्रशिक्षक लामाले सहभागीहरूलाई विभिन्न अभ्यास गराउँदै उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिएका छन ।
तालिममा सहभागीहरूले परियोजनाको योजना, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका साथै डिजिटल सञ्चारका नयाँ आयामबारे सिक्ने अवसर पाएका थिए । उनीहरूले श्रमिकका मुद्दाहरूलाई कसरी सशक्त रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने भन्नेबारे व्यावहारिक ज्ञान हासिल गरेको बताए ।
यो संयुक्त तालिमले नेपालका प्रमुख ट्रेड युनियनहरूबीच बढ्दो सहकार्य र साझा उद्देश्यप्रतिको प्रतिबद्धतालाई पुनः एकपटक उजागर गरेको छ । श्रमिक वर्गको बृहत्तर हितका लागि वैचारिक भिन्नतालाई थाती राख्दै साझा न्यूनतम कार्यक्रममा आधारित भएर अगाडि बढ्ने सन्देश यस कार्यक्रमले दिएको छ । चन्द्रागिरिको शान्त वातावरणमा सम्पन्न यस तालिमले आगामी दिनमा ट्रेड युनियनका अभियानहरूलाई थप योजनाबद्ध र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ ।