लमजुङ, २२ साउन – मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका –१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पहिरोको निरन्तर खसिरहेको कारण तत्कालै सडक खुलाउन सकिने अवस्था नरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले जानकारी दिएका छन । पहिरोले यातायात ठप्प भएपछि पोखराबाट बेँसीसहर जाने सवारीहरू काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन् ।
प्रहरी र स्थानीय तहका प्रतिनिधिहरुले पहिरोको अवस्था निगरानीमा राखिरहेका छन् । यद्यपि ठूलो चट्टानसहितको पहिरो भएकाले तत्काल बाटो खुलाउन कठिनाइ रहेको जनाइएको छ । यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।