शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारीमा कामपा


  • 460
    SHARES
  • https://www.indrenipost.com/posts/9861
    साउन ३१, २०८२ शनिबार
    सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारीमा कामपा

    काठमाडौँ, ३१ साउन । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएर पनि सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि शिक्षा विभागले स्थलगत अनुगमन गरेर खारेजीको तयारी गरिरहेको कामपाले जनाएको छ ।
    कामपाको उपप्रमुख सुनिता डङ्गोलका अनुसार महिला ज्योति, जायना र जेम्स नमूना विद्यालयलाई स्थानान्तरण अनुमति दिइएको छ भने २५ वटा विद्यालयलाई नाम परिवर्तनको अनुमति प्रदान गरिएको छ । यससँगै सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन लगायतका विषय शिक्षा समितिमा छलफल भइरहेको जानकारी दिइएको छ ।
    शैक्षिक सत्र २०८२ देखि रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ भने पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल तथा कम्प्युटर इञ्जिनियरिङ विषय थप गर्न स्वीकृति दिइएको छ ।
    त्यस्तै १२ वटा विद्यालयलाई कक्षा तथा विषय थपका लागि अनुमति दिने तयारी भइरहेको छ । २१ वटा विद्यालयलाई नाम परिवर्तनको स्वीकृति दिइएको छ । संस्थागत विद्यालय स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेस गर्ने जिम्मेवारी शिक्षा तथा स्वास्थ्य समितिलाई दिइएको छ ।
    यसैबीच, शिक्षा क्षेत्रमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमको उपयोगिता र परिमार्जन, साथै आगामी आर्थिक वर्ष २०८२।८३ को शिक्षा बजेटबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ । सामुदायिक विद्यालय सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ, जसले विद्यालय सञ्चालनका मापदण्डदेखि दीर्घकालीन शिक्षा योजनासम्मका सुझाव दिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij