चौतारा, ३० साउन — भोटेकोशी गाउँपालिका–२, इकुमा गएको पहिरोका कारण १२ दिनदेखि कोदारी राजमार्ग अवरुद्ध हुँदा सागसब्जी र फलफूल बोकेका करिब ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाका अनुसार करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ, जसका कारण सवारी साधन मात्र होइन, पैदल आवतजावत पनि कठिन भएको छ । सामानहरू भरियाको सहायताले मात्र पहिरो पार गराउन थालिएको छ ।
सापकोटाले सरकारीस्तरमा पहिरो पन्छाउने पर्याप्त प्रयास नभएको गुनासो गर्दै तत्काल पहल आवश्यक रहेको बताए ।
यसैबीच, चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगिरहेकाले बाटो खोल्न नसकेको र पानी रोकिनासाथ भारी उपकरण प्रयोग गरी सडक सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।