ललितपुर, ३० साउन – राणाकालमा स्थापना भएको खोकना कुष्ठरोग आरोग्य आश्रम अहिले १३३ जना कुष्ठरोग प्रमाणित व्यक्तिहरूको जीवनको आधार बनेको छ । सन् १८५७ मा जङ्गबहादुर राणाले ललितपुरको खोकनामा ‘कुष्ठरोगीखाना’ स्थापना गरेका थिए, जसको उत्तराधिकारी स्वरूप अहिलेको आश्रम सञ्चालन भइरहेको हो ।
करीब ५८ रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा हालको कोठा र संरचनाको अभावले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था छ । २१ देखि ९६ वर्ष उमेर समूहका बिरामी यहाँ बस्छन्, तर बाबुआमा निधन भएपछि सन्तानलाई बस्न नपाउने नियमले थप चुनौती सिर्जना गरेको छ ।
भवन संरचनामा धेरैजसो दातृ निकायको योगदान छ। राणाकालीन ऐतिहासिक भवन २०७२ को भूकम्पले भत्काएपछि अहिले करिब ५० वर्ष पुराना संरचना मात्र बाँकी छन् । सीमित जनशक्ति र साधनस्रोतका कारण पर्याप्त सुविधा दिन कठिनाइ भएको प्रमुख लक्ष्मी श्रेष्ठ बताउँछिन् ।
समाजबाट अलग जीवन बिताइरहेका यहाँका बासिन्दाले आपसी सहयोग र समुदायको परम्परा जोगाइरहेका छन् । प्राथमिक उपचार सुविधा आश्रममै उपलब्ध छ भने जटिल बिरामीलाई पाटन अस्पताल वा आनन्दवन अस्पतालमा निःशुल्क उपचार गराइन्छ ।
तेह्र वर्षको उमेरदेखि आश्रममा बस्दै आएका ७० वर्षीय काजीमान तामाङ भन्छन्, “पहिले साँघुरो कोठामा चार जना बस्नु पर्थ्यो, अहिले केही सुविधा छ । जीवनको अधिकांश समय यहीँ बितेको छ ।”