बागलुङ जिल्लाका काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानहरू बाँदर आतंकले अन्नबाली छाड्न बाध्य भएका छन्। बाँदरले धान, मकै, तरकारी र फलफूल नष्ट गर्दा बस्ती सुनसान बन्दै गएको छ ।
काठेखोला–६ का किसान थानेश्वर कँडेल, टङ्क कँडेल, रामबहादुर खड्का र रघुनाथ पौडेलले बाँदरको आतंकका कारण खेती छाडेर भैँसी पालन र मौरी पालनमा ध्यान दिन बाध्य भएको बताए। बाँदर नियन्त्रण नहुँदा आर्थिक घाटा र उत्पादन क्षति बढ्दै गएको छ ।
विशेषगरी काठेखोलाको करलिम, जैमिनी नगरपालिका–१ टुनीबोट–१० र जैमिनी–८ क्षेत्रमा बाँदर आतंक तीव्र देखिएको छ । किसानहरू बजारबाट तरकारी ल्याउन बाध्य छन् भने दूध उत्पादनमा पनि घाटा छ । बाँदरले घरभित्र छिरेर पकाएको खाना समेत नष्ट गरेको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवालले वैकल्पिक खेती र पशुपालनमा किसानलाई प्रोत्साहन गरिरहेका छन् भने पशु सेवा केन्द्रले अनुदान उपलब्ध गराउँदै सहयोग गरिरहेको छ। तर बाँदर नियन्त्रणमा ठोस पहल नहुँदा समस्या निरन्तर रहने अनुमान गरिएको छ।
किसान रामबहादुर खड्काले राज्यबाट बाँदर नियन्त्रणका लागि तत्काल पहल आवश्यक रहेको बताउनुभयो। बस्ती सुनसान र किसान वैकल्पिक पेशामा मोडिनु बागलुङको ग्रामीण जीवनका लागि गम्भीर चुनौती बनेको छ।