काठमाडौँ, २८ साउन — म्याट्रिक्स फाइट नाइट एमएफएन बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले रु पाँच लाख प्रोत्साहन स्वरूप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त रकम दिने घोषणा आज सामाजिक सञ्जालमार्फत गरेका छन ।
प्रधानमन्त्रीका अनुसार रवीन्द्रका प्रशिक्षकलाई पनि रु दुई लाख प्रदान गरिनेछ । गत शनिबार भारतमा सम्पन्न प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै उपाधि आफ्नो नाममा ल्याएका थिए ।
रवीन्द्रको यो जितले नेपाली मिश्रित मार्शल आर्ट एमएमए खेलमा अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान दिलाएको खेलकर्मीहरूको भनाइ छ । उनी बझाङका ग्रामीण भेगमा हुर्किएका र खेलप्रति समर्पणका कारण छोटो समयमै चर्चामा आएका खेलाडी हुन् ।
म्याट्रिक्स फाइट नाइट भारतको एक प्रतिष्ठित एमएमए प्रतियोगिता हो, जहाँ विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गर्छन् । रवीन्द्रको जितले आगामी दिनमा नेपाली युवा खेलाडीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन ।