काठमाडौँ, २८ साउनः सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको लिङ्क खोलेर ठगीमा पर्ने घटना बढ्दो क्रममा रहेको नेपाल प्रहरीले चेतावनी दिएको छ । पछिल्लो समय धितोपत्र बजारको जानकारी दिने नाममा ‘नेप्से एआई’ नामक एप डाउनलोड गराएर करोडौं रुपैयाँ ठगी गरिएको उजुरी प्रहरीको साइबर ब्यूरोमा पुगेको छ ।
प्रहरीका अनुसार, फेसबुक, इन्टाग्राम, टिकटकलगायत प्लेटफर्ममा देखाइने विज्ञापनमार्फत उक्त एप डाउनलोड गर्न प्रेरित गरिन्छ । एप इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा भएको सम्पूर्ण रकम तुरुन्तै अन्यत्र ट्रान्सफर गरिन्छ । यस्तै, डिजिटल डिभाइसमा रहेका सबै डाटा मेटाएर प्रमाण नष्ट गरिने गरेको उजुरीहरू प्राप्त भएका छन् ।
ताजा घटनामा, ‘जोन डोइ’ नामका एक व्यक्तिको मोबाइलमा एप इन्स्टल गरेपछि रु २८ लाख ६१ हजार रकम विभिन्न खातामा सारिएको र सबै एप तथा डाटा मेटिएको प्रहरीले जनाएको छ । विगतमा पनि यस्तै उजुरीहरू आएपनि, यसपटक ठगीको नयाँ स्वरुप देखा परेको साइबर ब्यूरोको भनाइ छ ।
सुरक्षाका लागि ब्यूरोले सामाजिक सञ्जालमा देखिने अपरिचित लिङ्क तथा एप नखोल्न, आधिकारिक स्रोतबाट मात्र एप इन्स्टल गर्न, पासवर्ड समय–समयमा परिवर्तन गर्न, दोहोरो सुरक्षा प्रणाली प्रयोग गर्न तथा घटना घट्नासाथ नजिकको प्रहरी वा सम्बन्धित बैंकमा तत्काल खबर गर्न आग्रह गरेको छ ।