चितवन, २८ साउनः सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस जेईको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार यस वर्ष बागमती प्रदेशमा चार जनामा जेई सङ्क्रमण देखिएको छ । यसमा चितवनका तीन र सिन्धुलीका एक जना रहेका छन् ।
जेई रोग क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो । मानिसबाट मानिसमा सर्ने जोखिम छैन । सङ्क्रमण हुने मुख्य समय हाल सुरु भएको हुनाले सबैलाई सजग रहन अनुरोध गरिएको छ ।
रोग लागेमा अचानक उच्च ज्वरो, टाउको दुखाइ, वान्ता, शरीर दुख्ने, घाँटी दुख्ने र बेहोस हुने लक्षण देखा पर्छ । उपचार नपाएमा पक्षघात, अपाङ्गता वा मृत्युसम्म हुन सक्छ । जनस्वास्थ्य कार्यालय चितवनले लक्षण देखिए नजिकको अस्पतालमा तत्काल उपचार सुरु गर्न आग्रह गरेको छ ।
जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घर वरिपरिका पानी जम्ने खाल्डाखुल्डी सफा गर्ने, बालबालिकालाई खोप लगाउने, घरपालुवा पशुपक्षीलाई टाढा राख्ने र झ्याल–ढोकामा मसिनो जाली हाल्ने सुझाव दिइएको छ ।