काठमाडौँ, २९ साउन — मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र पहिरोको जोखिम बढेको चेतावनी दिइएको हो ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ ।
आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम, ठूला–साना नदीनालामा पानीको सतह बढ्ने, यातायात अवरुद्ध हुने सम्भावना रहेको भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ ।