काठमाडौं, २९ साउन — जनवादी केन्द्रियताको भरपुर प्रयोग गर्दै अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक काठमाडौंको पाँचतारे मल्ल होटलमा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । संघका अध्यक्ष क. कुमार पन्तको अध्यक्षतामा, नेकपा माओवादी केन्द्र का उपमहासचिव तथा पूर्वमन्त्री माननीय शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा र महासंघका फ्र्याक्सन इन्चार्ज क.रामदीप आचार्यको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा महासंघ अध्यक्ष क. जगत सिम्खडा, वरिष्ठ उपाध्यक्ष धन बहादुर बिक, उपाध्यक्षहरू, महासचिव शालिकराम काफ्ले, उपमहासचिव, सचिवहरू, कोषाध्यक्ष, प्रचार–प्रसार विभागका सचिव, संघका इन्चार्ज माधव पाण्डे तथा संस्थापक अध्यक्षहरू लगायतको उपस्थिति थियो ।
बैठकले तात्कालिक तथा दीर्घकालीन एजेन्डा सहित संगठन विस्तार, श्रमिक हक–अधिकार र सेवा शुल्क पुनःप्राप्तिलाई प्रमुख निर्णयका रूपमा पारित गरेको छ । आगामी चैत्र मसान्तसम्म ५०० नयाँ सदस्य थप गर्ने र बाग्मती, गण्डकी, कोशी तथा लुम्बिनी प्रदेशमा २० वटा प्रतिष्ठानस्तरका इकाइ गठन गर्ने लक्ष्य तय गरिएको छ । बैठकमा १० प्रतिशत सेवा शुल्कको कानुनी कार्यान्वयनका लागि नीतिगत पैरवी गर्ने, सबै इकाई कमिटीमार्फत मागपत्र पेस गर्ने, देशव्यापी न्यूनतम सेवा सुविधा लागू गर्न ‘सूचनाको हक’ प्रयोग गरी तथ्य संकलन गर्ने तथा होटल मजदुर हेल्पडेस्क र फेसबुक पेज सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकमा धुलिखेलको मिराकल रिसोर्टका श्रमिकले चार महिनादेखि तलब नपाएको र होटल बन्द भएको विषयमा तुरुन्त समस्या समाधानका लागि आवश्यक कार्य गर्ने प्रतिबद्धता पनि गरिएको छ । साथै, ‘होटल मजदुर आन्दोलनको दर्पण’ प्रकाशन भाद्र मसान्तसम्म निकाल्ने योजना बनाइएको छ ।
प्रमुख अतिथि बस्नेतले मजदुरका समस्याबारे संसदमा आवाज उठाउने प्रतिवद्धता जनाउँदै, मजदुरका आवाज संसदसम्म पुर्याउने वातावरण निर्माण गर्ने बताएका छन् । विशिष्ट अतिथि आचार्यले होटल मजदुर आन्दोलनलाई ‘भुत्ते’ नभई ‘खहरे’ जस्तै गडगडाउने बनाउनुपर्नेमा जोड दिए । उनले १० प्रतिशत सेवा शुल्क पुनःप्राप्ति र ठेकेदारी प्रथाविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने धारणा राखेका छन ।
महासंघका महासचिव सालिकराम काफ्लेले माओवादी पार्टी सरकारमा रहदा र सरकार बाहिर हुँदा मजदुरका हितका मुद्दामा स्पष्ट प्रतिबद्धता देखाउनुपर्ने कुरा राखेका छन । सहभागीहरूले रिपोर्टिङ क्रममा नेताहरूले मजदुरका माग सुन्नेमा कमी भएको गुनासो गर्दै, आवश्यकता परे मालिकलाई ‘ठेगान’ लगाउने सामर्थ्य संगठनसँग भएको बताएका छन्।
हाल नेपालमा स्टार होटल १२६, नन–स्टार ११,९१९ गरी कुल १२,०४५ छन्। होटल क्षेत्रमा ४९,१२६ कामदार, रेष्टुराँ क्षेत्रमा ३,१०,९८२ कामदार र क्यासिनोमा करिब १०,००० कामदार कार्यरत छन् ।
बैठकले देशव्यापी रूपमा होटल, क्यासिनो र रेष्टुराँ क्षेत्रमा संगठन विस्तार, बैचारिक प्रशिक्षण, श्रमिक–संसद अन्तरक्रिया कार्यक्रम सञ्चालन तथा सबै तहमा एकताबद्ध अभियान अघि बढाउने निष्कर्ष निकालेको छ ।