गोरखा, २९ साउन — गोरखा नगरपालिका–११ तेह्रकिलोमा बसोबास गर्ने लोपोन्मुख कुसुन्डा जातिको एकमात्र परिवार अहिले जीविकोपार्जन र बासस्थान अभावको संकटमा परेको छ । चेतबहादुर कुसुन्डाको आठ सदस्यीय परिवार तीन आना अरूको जग्गामा बनेको एकपाखे घरमा बस्दै आएको छ, जुन जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसंख्या २५६ मात्र छ । चेतबहादुरको परिवार ४५ वर्षदेखि तेह्रकिलोमा बस्दै आएको हो । परिवारका सदस्यहरू वैदेशिक रोजगारी, मजदुरी र साना पेसामा निर्भर छन्, तर शिक्षा, भाषा र सांस्कृतिक परम्परा भने जोगिन सकेका छैनन्। चेतबहादुरलाई न आफ्नै जातिको भाषा थाहा छ, न परम्परागत रीतिरिवाज ।
हाल सरकारबाट प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता पाइरहेका उनीहरूले स्थायी बासस्थान र संरक्षण कार्यक्रमको आवश्यकता औंल्याएका छन्। चेतबहादुरले सरकारलाई कुसुन्डा जातिको उत्थान र भविष्य सुरक्षित गर्न विशेष पहल गर्न आग्रह गरेका छन् ।