काठमाडौँ, २९ साउन — प्रतिनिधि सभाको आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले कारागार सुधार, कानुन निर्माण, अर्थतन्त्र र हवाई सुरक्षासम्बन्धी गम्भीर समस्या औँल्याउँदै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण कारागारमा भीडभाड, स्वास्थ्य जोखिम र मानव अधिकार उल्लङ्घन बढेको बताउँदै कारागारलाई सुधारगृहको रूपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन । उनले सीपमूलक कार्यक्रम, खुला कारागार, सामुदायिक सेवा र पुनःसामाजिकीकरणका लागि प्रभावकारी नीति आवश्यक रहेको बताए ।
नेकपा एमालेकी सुनिता बरालले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि सम्बन्धित कानुन निर्माणमा ढिलाइ भएको भन्दै साझा विषयमा सहमति नगरी गालीगलौज र टकरावमा मात्र सीमित हुने प्रवृत्तिले समृद्ध नेपालको सपना कठिन हुने बताइन ।
नेकपा माओवादी केन्द्रका वर्षमान पुनले सरकारको बेथितिका कारण जनमानसमा निराशा फैलिएको र अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको टिप्पणी गर्दै मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकमध्ये ७४ प्रतिशत विदेश पलायन हुने तथ्याङ्कलाई उदाहरण दिएका छन । उनले मल वितरणमा देखिएको लापरबाहीप्रति पनि सरकारको मौनतामाथि प्रश्न गरे ।
नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले नेपालमा हवाई यात्रा असुरक्षित भएको भन्दै पटक–पटक हुने दुर्घटनाको गहिरो अनुसन्धान र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले सौर्य एयरलाइन्स दुर्घटनाको पुनःजाँचका लागि न्यायिक जाँच आयोग गठनको माग समेत गरेका छन ।