काठमाडौँ, २९ साउन — काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै रु दुई लाख जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा बिक्रीका लागि तयार गरिएको मःम भित्र धातुको औँठी फेला परेपछि कारबाही गरिएको महानगरको कृषि तथा खाद्य विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
महानगरको अनुसार, यसअघि पनि पटक–पटक निर्देशन उल्लङ्घन गर्दै उक्त व्यवसायले खाद्य गुणस्तर कायम नगरेको पाइएकाले ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ को सम्बन्धित दफा अनुसार जरिवाना तोकिएको हो ।
सञ्चालकलाई सात दिनभित्र जरिवाना रकम बैंक मार्फत बुझाउन र कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन र बिक्री गर्न आग्रह गरिएको छ ।