चितवन, २९ साउन — नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले ट्रकमा सवार तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट केए–४३६८५६ भएको ट्रक इच्छाकामना गाउँपालिका–३ नम्बर पुल नजिकै गुडिरहेका बेला सडकमाथिबाट ढुङ्गा खसेको हो ।
घटनामा भारतीय नागरिक तथा ट्रक चालक ४५ वर्षीय मेगु प्रसाद गम्भीर घाइते भएका छन् । उनका १८ वर्षीय छोरा सयद अफिद र २१ वर्षीय नहमान धुनियाँ सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते चालकको टाउकोमा चोट लागेको छ भने अन्य दुईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।