बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, सन् २०२६ देखि सञ्चालनको तयारी


  • 271
    SHARES
  • https://www.indrenipost.com/posts/9849
    साउन २९, २०८२ बिहीबार
    नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, सन् २०२६ देखि सञ्चालनको तयारी

    काठमाडौं, २९ साउन — सरकारले निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने उपभोग दस्तुर दर तोकेको छ । बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
    सरकारले तय गरेको दस्तुर दरअनुसार, काठमाडौं प्रवेश गर्ने र बाहिरिने क्रममा सवारीको प्रकार अनुसार फरक–फरक शुल्क लाग्नेछ । निर्णयअनुसार कार र भ्यानका यात्रुले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, मिनिबस तथा मिनिट्रकका लागि आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकका यात्रुले भने काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र जाँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ ।
    भारी उपकरण बोकेका विशेष सवारीसाधनका हकमा शुल्क अझै बढी तोकिएको छ । यस्तो सवारीले काठमाडौं आउँदा ६ सय रुपैयाँ र जाँदा २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।
    मन्त्री गुरुङका अनुसार, नागढुंगा सुरुङमार्गको निर्माण हाल अन्तिम चरणमा पुगेको छ र आवश्यक परीक्षण तथा आन्तरिक तयारी भइरहेको छ । सरकारले यो सुरुङमार्ग सन् २०२६ देखि सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । उनले यस सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–धादिङतर्फको यात्रा समय छोटिने, इन्धन खर्च घट्ने र सडकको भीड कम हुने अपेक्षा गरिएको बताए ।
    नागढुंगा सुरुङमार्ग नेपालको पहिलो ठूलो स्तरको सडक सुरुङ हो, जसको लम्बाइ करिब २.६८ किलोमिटर छ । जापान सरकारको सहयोगमा निर्माण भइरहेको यो आयोजनाले काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने मुख्य राजमार्गको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनुमान छ ।
    यातायात विशेषज्ञका अनुसार, सुरुङमार्ग सञ्चालनमा आएपछि यात्राको सहजता र सुरक्षा बढ्नुका साथै व्यापारिक तथा पर्यटक आवागमनमा पनि सकारात्मक प्रभाव पर्नेछ । दस्तुर दर तोकिएसँगै, अब सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्रशासनिक, प्रविधिक र कानुनी तयारी पनि अन्तिम चरणमा पुगेको सरकारी दाबी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij