काठमाडौँ, ४ भदौः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेसँगै देशमा मनसुन केही कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पनि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुने अनुमान गरिएको छ । त्यस्ता क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र तराईका एकदुई स्थानमा समेत वर्षा हुने सम्भावना छ ।
आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली र अन्यत्र आंशिक बदली रहने महाशाखाले जनाएको छ । मधेस, कोशी, वाग्मती र गण्डकीका तराई तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरो तथा गेग्रान बहाव डेब्रिज फ्लो को जोखिम रहने, नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ ।