बैतडी, ५ भदौः जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी प्रभावकारी बन्दै गएको छ । हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको यस केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएको केन्द्रका संयोजक डा। सिजन खड्काले जानकारी दिएका छन ।
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष यूएनएफपीए र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालको सहयोगमा सञ्चालित ओसिएमसीले जिल्लाका १० वटै पालिकाका २४४ र जिल्लाबाहिरका आठ जनालाई सेवा प्रदान गरेको हो ।
केन्द्रमार्फत लैङ्गिक हिंसा प्रभावितलाई कानुनी, उपचारात्मक तथा परामर्श सेवासहित विभिन्न सहयोग उपलब्ध गराइएको छ । ओसिएमसीमा आउनेमध्ये शारीरिक हिंसामा परेका ५३, मानसिक हिंसा प्रभावित ९७, स्रोतसाधनबाट वञ्चित ६५, बलात्कार पीडित १३, बलात्कार प्रयास घटनाबाट प्रभावित चार, बहुविवाह र बालविवाहबाट पीडित चार–चार तथा यौन दुव्र्यवहारका दुई जना रहेको जनाइएको छ ।
हिंसापीडितको गोपनीयता कायम राख्दै प्रहरी पनि सक्रिय रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । दशरथचन्द नगरपालिकामा गुनासो सुन्ने सुविधा र सेवामा सहज पहुँच भएकाले त्यहाँका पीडितको सङ्ख्या बढी देखिएको नगरप्रमुख पुस्करराज जोशीले बताए ।
जोशीका अनुसार दशरथचन्द नगरपालिकामा विगत १२ वर्षअघि बनेको सेफ हाउस अझै सञ्चालनमा आउन नसकेकाले त्यसलाई सक्रिय बनाउनुपर्ने र पालिकाले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ओसिएमसीले हिंसापीडितको पुनस्र्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन ।