बिहीबार , भदौ ५ गते २०८२ Aug 21 2025 Thursday
images
images

व्यापार सहजीकरणका लागि चीनसँग थप नाका खोल्न माग


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9905
    भदौ ४, २०८२ बुधबार
    व्यापार सहजीकरणका लागि चीनसँग थप नाका खोल्न माग

    काठमाडौँ, ४ भदौः नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरी नाका बारम्बार बन्द हुने समस्या समाधानका लागि चीनसँग थप व्यापारिक नाका खोल्न माग गरेको छ ।
    असार २४ गतेको बाढीले रसुवागढीस्थित मितेरी पुल बगाएपछि नाका ठप्प भएको र तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध हुँदा सयौँ कन्टेनर र ट्रक बाटोमै अलपत्र परेका छन् । यसले आयात–निर्यात प्रक्रियामा ठूलो अवरोध पुर्‍याएको सङ्घको भनाइ छ ।
    सङ्घले चीनसँग स्थलमार्गीय व्यापारलाई सहज बनाउन वैकल्पिक नाका सञ्चालनमा ल्याउन कूटनीतिक पहल र पूर्वाधार निर्माण तत्काल गर्नुपर्नेमा जोड दिएको छ । विकास समितिले विसं २०७२ मा पनि कोरला र ओलाङ्चुङगोला नाका सञ्चालन गर्न सकिने सुझाव दिएको थियो ।
    नेपाल–चीन उच्चस्तरीय छलफलमा एक दशकअघि नै सातवटा उत्तरी नाका खोल्ने सहमति भए पनि अझै अधिकांश नाका सञ्चालनमा ल्याउन बाँकी छ । ती नाकामध्ये कोरला वर्षभर सञ्चालनयोग्य र चीनतर्फ पूर्वाधारसहित तयार अवस्थामा रहेको छ भने नेपालतर्फ सडक पनि पुगेको छ ।
    भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र तातोपानीबाट रु ५० अर्ब र रसुवागढीबाट रु ८५ अर्बभन्दा बढीको सामान आयात भएको थियो । दुवै नाका बन्द हुँदा उपभोक्ता सुपथ मूल्यमा वस्तु पाउनबाट वञ्चित हुनुका साथै सरकारले ठूलो मात्रामा राजस्व गुमाउने जोखिम बढेको सङ्घले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij