चितवन, २५ साउन — नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट गरेका छन् ।
आज चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारले गरेका कामको आलोचना गर्दा माओवादीलाई सत्ता चाहिएको भनेर बुझ्नु गलत हुने बताए । “यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यसबारे कुरा उठाउँदा सत्ता चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई अहिले सरकारको चासो छैन,” उनको भनाइ थियो ।
उनका अनुसार माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि विगतमा स्थगित अभियानलाई पुनः सुरु गर्ने तयारी गरेको छ । त्यसपछि केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने योजना रहेको छ । “अहिलेलाई सरकारभन्दा जनताको आवाज सुन्नतर्फ ध्यान दिएका छौँ,” दाहालले भने।
हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको उल्लेख गर्दै उनले बैठकका निर्णयहरू कार्यान्वयनमा ल्याउने बताए । फरक प्रसंगमा, दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्दै द्रुतगतिमा निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन ।