सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

पहिरोले जयराम–हलेसी सडक अवरुद्ध, बोलबम तीर्थालु सडकमै अलपत्र


  • 334
    SHARES
  • https://www.indrenipost.com/posts/9810
    साउन २६, २०८२ सोमबार
    पहिरोले जयराम–हलेसी सडक अवरुद्ध, बोलबम तीर्थालु सडकमै अलपत्र

    खोटाङ, २६ साउन – लगातारको वर्षाका कारण खसेको ठूलो पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने सयौँ तीर्थालु सडकमै अलपत्र परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान करिब १०० मिटर माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा बन्द भएको हो ।
    सडक अबरुद्ध भएपछि काठमाडौं तथा तराई जाने–आउने सवारीसाधन जयराम र दुर्छिममा रोकिएका छन् । त्रिधार्मिक स्थल हलेसीमा लाग्ने बोलबम मेला भर्न आउने भक्तजन सबैभन्दा बढी प्रभावित भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार, करिब १०० मिटर सडक पुर्नेगरी खसेको पहिरो पन्छाउन समय लाग्ने भएकाले तत्काल आवतजावत सम्भव छैन । अविरल वर्षा नरोकिँदा उद्धार र सडक खोल्ने काममा कठिनाइ भइरहेको छ ।
    हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले पनि सडक अवरुद्धले धेरै तीर्थालु बीच सडकमै रोकिएको बताए । नगरप्रमुख विमला राईका अनुसार, पहिरो पन्छाउन स्काभेटर प्रयोग भइरहेको भए पनि ठूलो मात्रामा ढुङ्गा, माटो र रुखका कारण तत्काल सडक खुल्ने सम्भावना छैन ।
    च्यास्मिटारको पहिरोले दाम्ली–डिकुवा सडकसमेत बन्द भएको छ । यात्रा गर्नुपर्नेले जानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । हलेसीमा साउन महिनाभर चल्ने बोलबम मेलामा नेपालका विभिन्न जिल्ला तथा भारत, चीन, भूटानबाट समेत भक्तजन आउने गर्छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij