सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

तीन वर्षमा सकिनुपर्ने कमला नदीको पुल १४ वर्षपछि पनि अधुरै


  • 469
    SHARES
  • https://www.indrenipost.com/posts/9809
    साउन २६, २०८२ सोमबार
    तीन वर्षमा सकिनुपर्ने कमला नदीको पुल १४ वर्षपछि पनि अधुरै

    सिरहा, २६ साउन — सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको पक्की पुल १४ वर्षसम्म पनि अधुरै रहेको छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४६९ मिटर लामो पुल अझै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी वर्षौंयता सास्ती भोग्न बाध्य छन् ।
    पुल नबन्दा आवतजावतका लागि अस्थायी रूपमा बनाइने बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको पुल बगाएपछि यातायात ठप्प भएको थियो । हाल पुनः काठको संरचना बनाएर केही सहजता आए पनि जोखिम यथावत् छ ।
    सिरहा–६ का प्रवीण यादवका अनुसार पुल नहुँदा मोटरसाइकलसहित यात्रा गर्दा डर लाग्ने मात्र होइन, यात्रुहरूमाथि मनपरी शुल्क पनि असुल्ने गरिएको छ । नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि व्यवहारमा रु ५० सम्म तिर्नुपरेको उनको भनाइ छ ।
    पुल निर्माणको जिम्मा सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको भन्दै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकिदिएको छ ।
    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जिनियर रञ्जितकुमार रायका अनुसार, तोकिएको म्यादमै काम रोकेकाले लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । पुल अधुरो रहँदा वर्षायाममा स्थानीयलाई डुङ्गा चढेर वा बाँसको भ¥याङमार्फत नदी पार गर्नुपर्ने चुनौती दोहोरिँदो छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij