गलकोट बागलुङ, २६ साउन – अविरल वर्षाका कारण खसेको पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा चट्टानसहितको ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस करिडोरको बाटो खुलाउन आइतबार दिनभर दुई स्काभेटर प्रयोग गरिए पनि पहिरोको मात्रा धेरै भएकाले सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन ।
सडक अबरुद्ध हुँदा यात्रुहरू बीचल्लीमा परेका छन् । ठूला–ठूला चट्टानले सडक ढाकेकाले हटाउन कठिनाइ भइरहेको छ । कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी आज बिहानदेखि पुनः पहिरो पन्छ्याउने कार्य सुरु गरिएको छ ।