काठमाडौँ, २६ साउनः सङ्घीय संसद्का चार प्रमुख समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिले आफ्ना–आफ्ना विषयमा छलफल गर्नेछन् ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ । कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१’ का विषयमा दफावार छलफल हुनेछ ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट–२०२५’ सम्बन्धी विषयमा छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय गरेको छ ।