काठमाडौँ, २६ साउन — साउन महिनाको अन्तिम सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारै ढोका खोल्दै प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव सुवासचन्द्र जोशीले जानकारी दिनुभयो । भक्तजनलाई गौरीघाट, मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थानमार्ग हुँदै चारवटा फरक प्रवेशद्वारबाट प्रवेश गराइएको छ ।
साउनको सोमबार स्नान, पूजाआजा र दर्शन गरे अटल सौभाग्य र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा विवाहित महिलाले श्रीमान्को दीर्घायु र अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने परम्परा छ । कोषले अतिरिक्त जुत्ताचप्पल कक्ष र भक्तजनलाई ल्याउन चक्रपथमा चारवटा बसको व्यवस्था समेत गरेको छ ।
राजधानीको गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड देखिएको छ । पशुपतिनाथको श्रीयन्त्र र गोकर्णेश्वरको बालयन्त्र पूजासँग सम्बन्धित परम्पराअनुसार भक्तजन दुबै मन्दिरमा जाने गर्दछन् । सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने बोलबम भक्तजन पनि बिहानैदेखि सक्रिय छन् ।
बोलबम यात्रामा सहभागी भक्तजनले गोकर्णेश्वर महादेवलगायत बाटामा पर्ने शिवालयमा पनि जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउनमा नदीको जल, गाईको दूध आदि अर्पण गर्ने प्रचलन छ । यसरी वैदिक रुद्राभिषेक गरे घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने मान्यता छ । राजधानीका अन्य शिवालय, जस्तै वसन्तपुरस्थित मक्खन महादेव मन्दिरमा पनि आज भक्तजनको विशेष चहलपहल छ ।