मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

कैलाली कारागार झडपमा मृतक चौधरीको शव परिवारले बुझ्यो


  • 307
    SHARES
  • https://www.indrenipost.com/posts/9816
    साउन २६, २०८२ सोमबार
    कैलाली कारागार झडपमा मृतक चौधरीको शव परिवारले बुझ्यो

    सुदूरपश्चिम, २६ साउनः कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले आज बुझेका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत राखिएका माग सुनुवाइ हुने प्रतिबद्धतापछि मृतकका परिवार शव बुझ्न सहमत भएका हुन् ।
    प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार मृतक परिवारका केही माग प्रदेश सरकारले सम्बोधन गर्ने र मृतकका बच्चालाई निःशुल्क पढाउने विषयमा सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिइएको छ । परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न इन्कार गर्दै आएका थिए ।
    सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ मृतकका परिवारलाई रु पाँच लाख सहयोग दिने निर्णय गरेको थियो। गत शुक्रबार राति कारागारभित्र भएको झडपमा घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
    उक्त घटनामा घाइते भएका अन्य ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ । अर्का घाइते कल्पेस विष्टलाई पनि आज थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको छ ।
    घटनापछि कारागार व्यवस्था विभागले जालान्दर भुसाललाई कैलाली कारागारमा खटाएको छ । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ र कारागारको अवस्था सामान्य बन्दै गएको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij