बागमती, २७ साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । आज बसेको बैठकमा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको छ ।
कुल ११० सदस्यीय प्रदेशसभामा ९२ जना सदस्य उपस्थित थिए । तीमध्ये ६३ जनाले पक्षमा, २२ जनाले विपक्षमा र सात जनाले तटस्थ रहँदै मतदान गरे । सभामुख भुवनकुमार पाठकका अनुसार संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) बमोजिम प्रस्ताव पारित भएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बागमती कांग्रेसका सभापति बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको एक सातापछि उनले विश्वासको मत लिएका हुन ।
प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ ।