महोत्तरी, २ भदौ — मधेस प्रदेशमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । आर्थिक वर्ष २०८१र८२ मा रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ । यो पछिल्ला सात आर्थिक वर्षकै सबैभन्दा उच्च हो ।
यसअघि २०७५।७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । सात वर्षयता रकम दोब्बरभन्दा बढी बढ्दै वर्तमान आर्थिक वर्षमा ऐतिहासिक उपलब्धि हासिल भएको हो ।
मधेसको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणाली विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो प्रगति सम्भव भएको हो । उनले राजस्व सङ्कलनले अब राम्रो लय समातेको टिप्पणी गरेका छन ।
आर्थिक वर्ष २०८०।८१ मा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । आगामी वर्षहरुमा सङ्कलन प्रक्रियालाई अझ वैज्ञानिक र व्यवस्थित बनाइने भएकाले थप सुधार हुने मन्त्रालयले जनाएको छ ।