काठमाडौंँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले हर सम्भव पहल गरिरहेको स्पष्ट पारेका छन । उनका अनुसार परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गर्दै विपिनको मुक्तिका लागि प्रयास तीव्र बनाइएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सरकार विपिनको सुरक्षालाई उच्च प्राथमिकता दिँदै कूटनीतिक पहलमा जुटेको बताएका छन । उनले विपिनका परिवारलाई पनि नेपाल सरकार निरन्तर साथमा रहेको आश्वासन दिएका छन ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले त्यहाँका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरिसकेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग फोनवार्ता गरी विपिनको रिहाइको विषयमा ध्यानाकर्षण गराइसकेका थिए ।
प्रधानमन्त्री ओलीले विपिनको मुक्तिको अभियानमा सहयोग गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद समेत प्रकट गरेका छन ।