काठमाडौँ, २ भदौः हिन्दूकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि काठमाडौंमा सुरु भएको छ ।
संघीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजन र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको प्राविधिक सहयोगमा आयोजना भएको बैठकमा नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
बैठकमा संसद्का प्रतिनिधि, समितिका प्रमुख, वातावरण तथा जलवायु परिवर्तनका विज्ञको समेत सहभागिता रहनेछ । बैठकले जलवायु परिवर्तन, वायुप्रदूषण, जैविक विविधताको क्षति तथा सामाजिक–आर्थिक चुनौतीबारे विस्तृत छलफल गर्नेछ ।
आयोजक समितिका संयोजक वीरबहादुर बलायरले हिन्दूकुश क्षेत्रमा जलवायु परिवर्तन र वातावरण प्रदूषणले पारेको असर, जोखिम र अवसरबारे गहन छलफल हुने जानकारी दिएका छन ।
हिन्दूकुश हिमालय जैविक विविधता र सांस्कृतिक धनी पर्वतीय क्षेत्र हो, जुन अफगानिस्तानसहित आठ देशमा फैलिएको छ । वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वृद्धि विश्वको औसतभन्दा बढी हुने र यसले दुई तिहाई हिम भण्डार पग्लन सक्ने अनुमान गरिएको छ ।
यसै सन्दर्भमा बैठकले पर्वतीय मुद्दा क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा साझा दृष्टिकोण निर्माण गर्ने अपेक्षा गरिएको छ ।