खलङ्गा, २ भदौ । दार्चुला–गोकुलेश्वर सडकखण्डको तेर्छालेक–रनेबास क्षेत्र आज बिहानदेखि पहिरोले अवरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधनको आवतजावत ठप्प बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमामा पर्ने उक्त क्षेत्रमा निरन्तर ढुङ्गा र लेदो बगिरहेकाले सडक खुलाउन उपकरण परिचालनमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिएका छन ।
गोकुलेश्वरबाट उपकरण पठाइए पनि लगातार ढुङ्गा खसिरहेकाले सडक सफा गर्ने कार्य अघि बढ्न सकेको छैन । सडक अवरुद्ध भएपछि सदरमुकाम खलङ्गा भित्रिने र बाहिरिने सवारीसाधन जाममा परेका छन् ।